Odapalika - The Fourth Estate - चौथो अंग
आफ्ना नेताले एमालेलाई भोट माग्न थालेपछि एकीकृत समाजवादीलाई मत दिन माओवादीको सर्कुलर

काठमाडौँ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदपूर्तिका लागि हुने उपनिर्वाचनमा नेकपा माओवादीले एकीकृत समाजवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

माओवादी केन्द्रले एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी जवा शाहीलाई समर्थन गर्ने निर्णय गर्दै लिखित निर्देशन दिएको छ । माओवादी केन्द्र सुदूरपश्चिमका इञ्चार्ज गिरिराजमणि पोखरेलले शाहीलाई समर्थन गर्न लिखित निर्देशन दिएका हुन् ।

स्वामीकात्र्तिक खापर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रबाट माओवादी केन्द्रबाट राजुकुमारी विकले पनि उम्मेदवारी दिएकी थिइन् । तर, पछि उनले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढालाई भोट माग्दै हिँडेकी छन् । यही बेला माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्न लिखित निर्देशन दिएको हो । 

साथै उपाध्यक्षमा नेपाली कांग्रेसबाट पुलतीसरा शाही पनि प्रतिस्पर्धामा छिन् । 

केन्द्रमा समाजवादी मोर्चा बलियो बनाउने अभियान चलिरहेका बेला स्थानीय तहमा एमाले उम्मेदवारलाई समर्थन गर्ने कुरा पार्टीको नीतिविपरीत हुने पोखरेलको लिखित निर्देशनमा उल्लेख छ । 

एकीकृत समाजवादीकी उम्मेदवार शाहीलाई मतदान गर्न माओवादीले आफ्नो नेता तथा कार्यकर्तालाई दिएको निर्देशनमा उल्लेख छ, ‘उपनिर्वाचनमा माओवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी बिक एमालेको चुनाव प्रचारमा सहभागी भएको सम्बन्धमा यो पार्टीको केन्द्रीय नीति र निर्देशनविपरीत क्रियाकलाप रहेको छ । केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको छ । त्यसैले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ ।’

४४ पदका लागि तय गरिएको स्थानीय तह उपनिर्वाचनमा ३ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने ४१ पदका लागि यही मंसिर १६ गते मतदान हुँदै छ । 

मंसिर २ गते ४१० जनाले उम्मेदवारी दर्ता गराएकोमा मंसिर ५ गते ३१ जनाले उम्मेदवारी फिर्ता लिए । अब ४१ पदका लागि चुनावी मैदानमा ३७३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update