काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फेरि विदेशी लगानी भित्रिएको छ ।
फिनल्याण्ड सरकारको लगानी रहेको फिनिस फण्ड फर कोअपरेसन (फिनफण्ड) ले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा १ करोड युरो (१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी) लगानी गर्ने सहमति भएको छ ।
फिनल्याण्डबाट आउने यो प्रत्यक्ष विदेशी लगानीले नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । फिनफण्डबाट आएको लगानी नेपालको दुरदराजका ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाउन प्रयोग गरिनेछ ।
‘अझै पनि नेपालका ग्रामीण क्षेत्रसम्म इन्टरनेट पहुच पुग्न सकिरहेको छैन । गुणस्तरीय इन्टरनेटको अभाव अझै कायम छ । यसको मुख्य कारण इन्टरनेट पूर्वाधारको अभाव हो । यस्तो अवस्थामा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा भित्रिएको विदेशी लगानीले नेपालमा डिजिटल साक्षारता अभिबृद्धिमासमेत सहयोग पुग्ने विश्वास लिएका छौं,’ कम्पनीले भनेको छ ।
फिनफण्डको लगानी ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाउन खर्च हुने कम्पनीले जानकारी दिएको छ । ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनेपछि नेपालभर गुणस्तरीय इन्टरनेट सेवा प्राप्त हुने र त्यसले डिजिटल डिभाइडको समस्या पनि समाधान हुने कम्पनीको भनाइ छ ।
‘सहरी क्षेत्रमा गुणस्तरीय इन्टरनेटको पहुच प्राप्त हुने तर ग्रामीण क्षेत्रमा यसको अभाव हुने अवस्थाले नेपाल विद्यमान डिजिटल डिभाइडको अवस्थाको अन्त्य गर्न वर्ल्डलिंक र फिनफण्डको यो लगानी सहकार्यले सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ कम्पनीले भनेको छ ।
नेपालका दुरदराजसम्म गुणस्तरीय इन्टरनेट पुग्न सकेको अवस्थामा देशको समावेशी विकासलाई अघि बढाउन पनि सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
यसैबीच फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले टाभियो नेपाल भ्रमणमा आएका छन् । भ्रमणको क्रममा मन्त्री टाभियोले निजी क्षेत्रका प्रतिनिधिहरू तथा प्रमुख सरकारी अधिकारीहरुसँग भेटघाट गरेका छन् ।
यसै क्रममा मन्त्री टाभियोले प्रभावकारी लगानीकर्ता फिनफण्डले नेपालको दूरसञ्चार क्षेत्र (वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड) मा गरेको नयाँ लगानीको घोषणा गरिएको हो ।
के हो फिनफण्ड ?
फिनफण्ड फिनल्याण्ड सरकारको लगानी रहेको कम्पनी हो । यो कम्पनीले विकासका लागि विश्वका विभिन्न देशमा लगानी गर्ने गरेको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सको बारेमा
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालको निजी क्षेत्रबाट संचालित सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीले २४सै घण्टा सातै दिन करिब १० लाख घरधुरीलाई इन्टरनेट सेवा प्रदान गरिरहेको छ । वर्ल्डलिंकले १३३ शाखामार्फत सातै प्रदेशका ७५ वटै जिल्लामा इन्टरनेट उपलब्ध गराइरहेको छ । टिम वर्कमा विश्वास राख्ने वर्ल्डलिंक कम्युनिकेसन्समा हाल ५ हजार ५ सयभन्दा बढी दक्ष्य जनशक्ति आफ्ना ग्राहकको सेवामा निरन्तर खटिरहेका कम्पनीको भनाइ छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सले यसअघि नै नेपालमा विदेशी लगानी भित्र्याइसकेको छ । वर्ल्डलिंक कम्युनिकेसन्स विदेशी लगानी भित्र्याउन सफल नेपालको इन्टरनेट सेवा प्रदायक मध्येको पहिलो र एक मात्र कम्पनी हो । कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्ड मार्फत विदेशी लगानी भित्र्याइसकेको छ । विदेशी लगानी भित्रिएसँगै कम्पनीले देशव्यापी रूपमा गुणस्तरीय सेवा विस्तारका साथै कर्मचारीहरूको सीप अभिवृद्धिमा समेत ठूलो लगानी गरिरहेको छ । फिनफण्डमार्फत भित्रिएको नयाँ विदेशी लगानीले नेपालका दुरदराजसम्म इन्टरनेट पूर्वाधार निर्माण गर्ने योजना कम्पनीको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्स इन्टरनेट सेवा प्रदायकतर्फबाट सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीको रूपमा सरकारबाट विभिन्न समयमा सम्मानित भइसकेको छ । यसका साथै कम्पनीले एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन मार्फत ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’, कर्पाेरेट एक्सिलेन्सी आईएसपी अवार्डलगायतका अवार्ड प्राप्त गर्न सफल भएको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायलाई सशक्त बनाउदै सामुदायिक वाइफाइ र शैक्षिक अभियानहरू पनि संचालन गरिरहेको छ । देशका १६ हजारभन्दा बढी स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएका ेछ । वर्ल्डलिंकले महिला हिंसाविरुद्धको सचेतना अभियान, स्वास्थ्यकर्मीका लागि आत्महत्या रोकथाम सम्बन्धी तालिम, विपत्तिहरुमा स्वास्थ्य सामग्रीको वितरण, साइबर सुरक्षा सम्बन्धी सचेतना अभियान समेत संचालन गदै आएको छ । वर्ल्डलिंक कम्युनिकेसन्सले सरकारले लिएको दिगो विकास लक्ष्यका विभिन्न क्षेत्रहरुमा सहयोग गदै आएको छ ।