Odapalika - The Fourth Estate - चौथो अंग
अर्काको उम्मेदवारलाई भोट माग्दै एकीकृत समाजवादीका नेताले भने– यो जनमत संग्रह हो 

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएर प्रचारमा लागेका छन् । चुनावी प्रचारप्रसारको अन्तिम दिन बिहीबारसम्म विभिन्न राजनीतिक दल कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनलाई अन्यत्रको तुलनामा विशेष प्राथमिकता दिएका छन् । पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रमपछिको जनताको मत लिने ‘जनमत संग्रह’को रुपमै दल र तिनका नेताले लिएका छन् । 

कीर्तिपुरमा मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि निर्वाचन हुन लागेको हो । मेयर पदमा कांग्रेसका कृष्णमान डंगोल, एमालेका डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जन, नवरथकुमार बानिया, कविकुमार महर्जन, दिनेशकुमार अधिकारीसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कीर्तिपुरको मेयर पदमा उम्मेदवारी नदिएको एकीकृत समाजवादीले यहाँ हुने उपनिर्वाचनलाई जनतम संग्रहको रुपमा लिएको जनाएको छ । जनमत संग्रह भन्ने एकीकृत समाजवादीले कीर्तिपुरको मेयर पदमा आफूले उम्मेदवार नउठाएर माओवादी केन्द्रलाई सहयोग गरेको छ । 

कीर्तिपुरको नगाउँ दोबाटोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कीर्तिपुरमा हुने उपनिर्वाचनलाई जनमत संग्रहकै रुपमा लिएको बताए ।  

उनले देशको वर्तमान अवस्थाबारे जनताको मत लिने उपनिर्वाचनलाई लिएको बताए । उनले भने ‘यो उपचुनाव साँच्चै देशको लागि अहिलेको अवस्थाको जनमत संग्रह हो ।’ 

उनले माओवादी केन्द्रको उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई भोट माग्दै हँसिया हथौडामा मत दिन आह्वान गरे । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update