काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
काठमाडौँँको कीर्तिपुर नगरपालिका, र २ वडा वडा अध्इक्ष, काठमाडौँँ महानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षसहित देशभर शानितपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ११ बजेसम्ममा २५ प्रतिशत मतदाता मतदानमा सहभागी भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशभर शान्तिपूर्ण रुपमा मतदान भएको र कही कतै हालसम्म विवाद सिर्जना भएको छैन ।
कीर्तिपुर नगरपालिकाका २० स्थानमा मेयर र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा ९ जनौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगरप्रमुख राजकुमार नकर्र्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।
मोरङको ग्रामथानमा १२ मतदानस्थलका २९ मतदान केन्द्रमा मतदान शुरू भएको छ । ग्रामगानमा २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा एक स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा छन् ।
हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् ।
मोरङको ग्रमथान गाउँपालिका, दैलेखको महावु गाउँपालिकामा पनि शानितपूर्ण रुपमा मतदान जारी छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ । दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नं। ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् ।
महावु गाउँपालिका अध्यक्षका पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा हुँदैछ । गाउँपालिकामा १२ हजार ६१४ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् ।