Odapalika - The Fourth Estate - चौथो अंग
आज पनि बयान जारी, सरकारी वकिलसमक्ष के भने रवि लामिछानेले ?

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एंव गृहमन्त्री रवि लामिछानेसँग सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिने काम भइरहेको छ । 

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा उनीसँग बयान लिइएको हो । यसअघि गत शुक्रबार पनि सरकारी वकिल कार्यालयमा लामिछानेसँग बयान लिइएको थियो । 

आइतबार उनको बयान सक्ने प्रहरी र सरकारी वकिलको तयारी छ । कास्की प्रहरीको न्यायिक हिरासतमा रहेका उनलाई गत बिहीबार साँझ काठमाडौँ ल्याएर शुक्रबारबाट बयान लिन थालिएको हो । 

तर, उनले सहकारीको रकम अपचलनमा आफ्नो भूमिका नरहेको इन्कारी बयान दिइरहेका छन् । प्रहरीले प्रमाणका रुपमा विभिन्न कागजात रहेको दाबी गर्दै बयान लिए पनि लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका छन् । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा गत कात्तिक २ गते उनी काठमाडौँको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update