Odapalika - The Fourth Estate - चौथो अंग
दिगो विकास लक्ष्य पुरा गर्ने स्थानीय सरकारको प्रतिवद्धता 

विराटनगर । स्थानीय तहसँगका जनप्रतिनिधिहरुले आपसी सहकार्यबाट दिगो विकास लक्ष्य २०३०  पूरा गर्न आवश्यक पहलका लागि एकतावद्ध हुने प्रतिवद्धता जनाएका छन् । 

आज विराटनगरमा सम्पत्र सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारण सभा एवं अधिवेशन–२०८० मा  पालिकाहरुको प्रविधियुक्त्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धीमूलक हुने बताएका छन्  ।

अधिवेशनले, स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि हेटौडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने तथा सम्पूर्ण सदस्यहरुको सहकार्यमा कार्य सम्पत्र गरी सञ्चालन गर्ने निर्णय गरेको छ । 

सो समितिमा विराटनगर महानगरपालिका अध्यक्ष, बुटबल उपमहानगरपालिका उपाध्यक्ष, तानसेन नगरपालिका महासचिव, भीमदत नगरपालिका कोषाध्यक्ष तथा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, इन्सेक नेपाल, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि समाज नेपाल र हेटौडा उपमहानगरपालिका सदस्य छन् ।

विश्वमा बढ्दो सहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकास सम्बन्धी संस्थाहरुको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तरष्ट्रिय संस्थाको स्थापना भएको हो । 

सिटिनेटको पूर्वअध्यक्ष मीनाकुमारी लामाले हालसम्म यो सञ्जालले १३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनीहरु र अनुसन्धान केन्द्रहरु समेटेको  बताइन् । 

त्यस्तै स्थानीय तहबीचको परम्पर सहयोग, सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाइको आधारमा आपसी सम्बन्धमा अभिवृद्धि गर्न थप अग्रसरता, दिगो विकास गर्ने हेतुले २०५८ साल साउन २७ गते सिटिनेट अन्तर्राष्ट्रिष्य संस्थाको नेपाल च्याप्टरको रुपमा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर स्थापना भएको लामाले बताइन् । 

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अधिवेशनले एकआपसमा सम्बन्ध सुमधुर हुनुका साथै विकास र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न प्रेरणा मिल्ने बताए । अधिवेनले कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन समेत गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update