काठमाडौँ । रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँचजनाको मृत्यु भएको छ । आइतबार रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर पाँचजनाको मृत्यु भएको हो ।
सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँचजनाको मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरले वडापालिकालाई जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओमलाल परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया गुठी परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको हो ।
पर्खाल भत्किएर दुईजनाले ज्यान जोगाएका अध्यक्ष मगरले जानकारी दिए । उनका अनुसार ज्यान जोगाउँदा सामान्य घाइते भएका उनीहरु उपचारपछि घर फर्किएका छन् ।
आठ मजदुर काम गरिरहेका बेला पाँचजनाको मृत्यु, दुईजनाले भागेर ज्यान जोगाउँदा एक मजदुर भने गिट्टी कुरेर बसेका कारण जोगिएका अध्यक्ष मगरको भनाइ छ ।
मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो ।