Odapalika - The Fourth Estate - चौथो अंग
खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले स्वास्थ्य मन्त्रीसँग माग्यो ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र

काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले सो वडामा ५ शैय्याको अस्पताल र गाउपालिकाको केन्द्रमा पोष्ट मार्टम केन्द्र स्थापना गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग माग गरेको छ ।

वाडाध्यक्ष फुनरु शेर्पा र नेपाली कांग्रेस वडा नं. ५ का पार्टी सभापति मिङ्मा शेर्पाले मन्त्री पौडेललाई भेटी अस्पताल र पोस्टमार्टम केन्द्र स्थापनाको लागि निवेदन दिएका हुन् । वडा नं. १ मा अस्पताल नहुँदा सर्वसाधारणले स्वास्थ्य सेवा पाउन कठिन भएकोले मन्त्री पौडेलसँग अस्पताल निर्माणको पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष शेर्पाले बताए ।

‘वडा नं. १ मा ५ शैय्याको अस्पताल आवश्यक छ । जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न अति आवश्यक रहेकोले सो कुरा माननीय मन्त्रीज्यूलाई निवेदन गरेका छौं । यस्तै, गाउँपालिकाको केन्द्रमा एउटा पोस्टमार्टम केन्द्र स्थापन अति जरुरी रहेकोले सो केन्द्र स्थापनाको पनि पहल गरिएको हो,’ वडा नं. १ का वडाध्यक्ष शेर्पाले वडापालिकासँग भने ।

वडाध्यक्ष शेर्पा र वडा नं. ५ का पार्टी सभापति शेर्पाले मंसिर १७ गते मन्त्री पौडेललाई भेटेर निवेदन दिएका हुन् । खुम्बु क्षेत्र पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण क्षेत्र भएको र सो क्षेत्रमा दुर्घटना जस्ता दुःखद अवस्थाको कारण स्वेदशी तथा विदेशी पर्यटक तथा स्थानीयको मृत्यू भएमा पोस्ट मार्टम गर्न सदरमुकाम फाप्लु लैजान समस्या भएकोले पोस्ट मार्टम केन्द्र स्थापना आवश्यक रहेको वडा नं. ५ का पार्टी सभापति शेर्पाले बताए ।

WhatsApp-Image-2024-12-02-at-08.59.49-1733117768.jpeg
‘खुम्बु क्षेत्र पर्यटनको हिसावले अति नै महत्वपूर्ण क्षेत्र हो । सो क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति धेरै हुन्छ । यहाँ आएका पर्यटक वा स्थानीयको कुनै कारण मृत्यू भएमा पोस्ट मार्टम अनिवार्य हुन्छ । पोस्ट मार्टमको लागि जिल्ला सदरमुकाम फाप्लु नै लानुपर्ने वाध्यता छ । पोस्ट मार्टमको लागि लास सदरमुकाम लान निजी गाडीले मान्दैनन् । हेलिकोप्टरले पनि नमान्ने र माने पनि भाडा अति नै महंगो हुने गरेको छ । सोही कारण गाउँपालिकाको केन्द्रमा पोस्ट मार्टम केन्द्र स्थापन गर्न पहल गरिदिन मन्त्रीज्यू समक्ष अनुरोध गरेका हौं,’ सभापति शेर्पाले वडापालिकासँग भने ।

वडा नं. १ मा ५ शैय्याको अस्पताल बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको छ । सो अस्पतालको लागि जग्गा प्राप्ति गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update