काठमाडाैँ । काठमाडौँको चाक्सीवारी २०४० को दशकदेखि चर्चाको शिखरमै छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व तथा कांग्रेस नेता गणेशमान सिंहको घर भएको ठाउँ हो चाक्सीबारी ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि उनलाई सिंगो देशले सर्वमान्य नेता मान्दै आएको छ । यो काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा पर्छ । जहाँ १६ मंसिरमा उपनिर्वाचन भयो । २०७९ सालको स्थानीय तह उपनिर्वाचनमा यो वडामा कांग्रेसका मुकुन्द रिजालले शानदार जति निकाले ।
यो जितमा गणेशमानका छोरा, कांग्रेस उपसभापति तथा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘नाक फुलाएका’ थिए ।
तर २ वर्ष नबित्दै गणेशमानको घर भएको र कांग्रेसको बिजारोपण गर्ने नेताको घर भएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ ।
वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।
स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।
रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको नेपाली कांग्रेस भने तेस्रोमा धकेलिएको छ । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए ।
एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १९०२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र उम्मेदवार सम शाक्यले ३३४ मत पाएका छन् ।