Odapalika - The Fourth Estate - चौथो अंग
हर्क साम्पाङ जहाँ पुग्छन्, त्यहीँ उम्मेदवार सेक्छन्

काठमाडौँ । सुनसरीको धरान उपहानगरपालिकाका मेयर हुन् हर्कराज राई (हर्क साम्पाङ) । स्वतन्त्र उम्मेदवरबाट निर्वाचित भएर उनले धरानको बागडोर सम्हाल्ने अवसर पाएका हुन् । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । 

कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका उनले २० हजार ८२१ मत ल्याएका थिए । कांग्रेसका राईले १६ हजार ५९ मत ल्याए । 

मेयर साम्पाङले खानेपानीको लागि गरेको संघर्ष चर्चाको विषय बन्दै आएको छ । साथै उनले विभिन्न विषयमा सामाजिक सञ्जालमार्फत जनाउने प्रतिक्रिया पनि विवाद र चर्चामा रहँदै आएको छ । चालु आर्थिक वर्षको बजेट समयमा ल्याउन सक्दा उपमहानगर बजेट शून्य अवस्थामा पुग्दा होस् वा आफू विदेश भ्रमणमा जाँदा दिएको कार्यवहाकको विषय विवादमा पर्दा पनि आफ्ना कमजोरी नस्वीकार्ने साम्पाङ सुशासन कायम गराउनेदेखि विकास निर्माणमा आफू प्रतिबद्ध रहेको बताउने गर्छन् । तर, जे होस् उनी चर्चामा भने रहिरहने पात्र हुन् । 

मेयरमा साम्पाङ निर्वाचित भएयता धरानमा कुनै पनि निर्वाचन भएको छैन । दुईवटा उपनिर्वाचन हुँदा धरानमा भने भएन । तर, मेयर साम्पाङलाई भने दुइटै उपनिर्वाचन भने लाग्यो । उनी प्रचार प्रसारमा हिँडेर आफूले समर्थन गरेका उम्मेदवारलाई भोट मागे ।

गत वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भयो । मेयर साम्पाङले स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन जनाए । थेगिमलाई भोट दिन र पहिचानवादीको आन्दोलनलाई सहयोग गर्न उनले आह्वान गरे । धरानबाट इलाम पुगेर थेगिमको प्रचारप्रसारमा हिँडे ।  तर, साम्पाङले समर्थन गरे थेगिम निर्वाचित हुन त सकेनन् नै निकटतम प्रतिस्पर्धी पनि बनेनन् । 

उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए । थेगिमले ११ हजार ४५७ मत ल्याएर तेस्रो स्थानमा रहे । 

साम्पाङ समर्थित उम्मेदवार कीर्तिपुरमा पनि पराजित

गत वैशाखमा भएको इलाम क्षेत्र नम्बर २ को प्रतिनिसिभा सदस्यको उपनिर्वाचनमा धरानका मेयर साम्पाङले समर्थन गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम पराजित भए । उनी तेस्रो स्थानमा रहे । तर, साम्पाङलाई भने धरानमा नभए पनि अन्यत्र भएका उपनिर्वाचन निकै लाग्यो । यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनले पनि उनलाई व्यस्त गरायो । काठमाडौँको कीर्तिपृुर नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार राजमान महर्जनको पक्षमा उनी चुनावी कार्यक्रममा सहभागी हुँदै भोट मागेका थिए । तर, यहाँ पनि इलाम–२ कै नियति दोहोरियो, साम्पाङले समर्थन गरेका उम्मेदवार महर्जन पराजित भए । 

धरानबाट कीर्तिपुर आएर साम्पाङ महर्जनको चुनावी सभादेखि घरदैलो कार्यक्रममा सहभागी भएर भोट मागेका थिए । तर, परिणाम आउँदा महर्जन चौथो स्थानमा रहे । 

कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मत पाएर विजयी हुँदा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याएर पछ्याए । कांग्रेस र एमालेका उम्मेदवारलाई पछ्याएका एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ पाए । तर, साम्पाङले समर्थन गरेका र चुनावी कार्यक्रममा सहभागी भएर भोट मागेका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत मात्र ल्याए ।

साम्पाङले समर्थन गरेका इलाम क्षेत्र नम्बर २ र कीर्तिपुर मेयर पदका स्वतन्त्र उम्मेदवार निर्वाचित हुन सकेनन् । उनीहरु निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update