काठमाडौँ । राष्ट्रिय महिला आयोगले महिला हिंसामा संलग्न देखिएको भन्दै कारवाहीका लागि सिफारिस गरेका राष्ट्र बैँकका २ उच्च अधिकारीलाई जोगाउन खोजेकोे भन्दै महिला आयोगका २ जना सदस्यलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
राष्ट्रिय महिला आयोग अध्यक्ष कमला पराजुलीले आयोगका सदस्यहरु कृष्णकुमारी पौडेल खतिवडा र विद्या कुमारी सिन्हालाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएकी हुन् ।
महिला आयोगकी अध्यक्ष पराजुलीले वडापालिका डटकममा प्रकाशित समाचारमा उल्लेख भएको घटना विवरण र आफुले महिला आयोगका कर्मचारीसँग गरेको सोधखोजका आधारमा आयोगकै २ जना सदस्यहरु हिंसामा संलग्नलाई जोगाउन लागि परेको भन्दै स्पष्टीकरण सोधेकी हुन् ।
वडापालिका डटकमले पछिल्लो पटक ‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो शीर्षकमा १३ मंसिरमा समाचार प्रकाशन गरेको थियो ।
हेर्नुहोस् वडापालिकाले प्रकाशन गरेको समाचार
‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो
अध्यक्ष पराजुलीले महिला आयोगले नै महिला हिंसामा संलग्न भएको ठहर गरेका नेपाल राष्ट्र बैँकका डेपुटी गर्भनर बमबहादुर मिश्र र तत्कालीन कार्यकारी निर्देशक देवकुमार ढकाललाई अभियोगबाट सफाइ दिन पीडिकसँग भेटघाट गरेको, आयोगका कर्मचारीलाई मिश्र र ढकालका नाममा सफाइ पत्र बनाउन दवाव दिएको लगायतका अनैतिक र आचरणहीन काम भएको स्ष्टष्टीकरण पत्रमा उल्लेख गरेकी छन् ।
‘वडापालिका डटकम नामक अनलाइन समाचारमा ‘क्लिनचिट दिन महिला आयोगलाई डेपुटी गभर्नर र पूर्वकार्यकारी निर्देशकको दबाब’ शीर्षकको समाचारमा २०८१/०८/१३ गते दिउँसो राष्ट्र बैंक डिपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल यस आयोगमा आई तपाईंहरुद्वयसँग भेटघाट गरेको र तपाईंहरुले उजुरी शाखाको कर्मचारीलाई ती बाह्य (आरोपित) व्यक्तिको अगाडि बोलाएर शाखाबाट उहाँहरुको बारेमा आएको समाचार खण्डन गराई पत्र दिने भन्ने समाचारप्रति आयोगको अध्यक्षको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टीकरणमा उल्लेख छ ।
सदस्यद्धयलाई सोधिएको स्पष्टीकरणमा आयोगले समाचारमा उल्लेख भएको विषय यकिन गर्न कर्मचारीसँग सोधपुछ गरेको र सोधपुछपछि आरोपितहरुले सदस्यकै अगाडि खण्डन पत्र दिन भनेकोले यो विषयलाई आफुले गम्भीर र आपत्तिजनक मानेको उल्लेख छ ।
‘समाचारमा उल्लेख भए अनुसारको कार्य हो वा होइन भनी एकीन गर्न अध्यक्ष स्वयंले उजुरी शाखा प्रमुख र सरकारी वकीलसँग बुझ्दा उजुरी शाखा प्रमुखलाई बोलाई आरोपित मिश्र, ढकाल र माननीय कृष्णकुमारी पौडेल खतिवडासहित माननीय विद्या कुमारी सिन्हाज्यूले सो बारेमा सोधपुछ गर्नुभएको र सोही समय सोही स्थानमा डिपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले आफूहरुलाई खण्डन पत्र दिन भन्नु भएको कुरा पुष्टि हुन आएको हुँदा यो विषय थप गम्भीर र आपत्तिजनक भएको महसुस भएको छ,’ सदस्यद्धयलाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ ।
बम र ढकालबारे आयोगले गरेको कारवाही प्रक्रियाबारे सदस्यद्धय खतिवडा र सिन्हा जानकार रहेको भन्दै अध्यक्ष पराजुलीले सदस्यद्धयले उजुरीबारे उजुरी शाखाका कर्मचारीसँग अनावश्यक चासो राखेको समेत स्ष्टीकरणमा उल्लेख गरेकी छन् ।
‘सो उजुरी सम्बन्धमा आयोगबाट प्रक्रियागत रुपमा अध्ययन, अनुसन्धान लगायतका काम कारवाही भईरहेको कुराबारे यहाँहरु प्रष्ट जानकार हुनुहुन्थ्यो । तपाईंहरुले उजुरी शाखाका कर्मचारीहरुसँग सो विषयमा चासो राखेको कुरा थाहा पाएर अध्यक्ष स्वयंले पनि यस विषयमा अध्ययन र प्रक्रियागत रुपमा कार्य भईरहेको कुरा यहाँहरुलाई बेला बेलामा जानकारी गराएको हो,’ स्पष्टीकरणमा भनिएको छ, ‘उजुरी शाखामा काम भइरहेको विषयलाई अनावश्यक रुपमा पदाधिकारीले बेला बेला खोजी र चासो प्रकट गर्दा हामी सार्वजनिक व्यक्तिको स्वार्थ बाझिने र घटनाको छानबिन प्रकिया विषयान्तर र प्रभावित हुने हुँदा यस किसिमको कार्यलाई निष्कर्षमा नपुर्याइ आयोगका प्रत्येक सदस्यलाई जानकारी गराउन नमिल्ने हुँदा सोही अनुरुप उजुरी शाखाबाट कार्य सम्पादन भएको हो ।’
यसअघि सदस्य खतिवडाले राष्ट्र बैँकका डेपुटी गर्भनर बम र तत्कालीन कार्यकारी निर्देशक ढकालमाथि आयोगमा उजुरी परेको र आयोगले महिला हिंसामा संलग्न रहेको ठहर गरेको विषय नै झुटो भएको दाबी गर्दै आएकी थिइन् ।
तर अध्यक्ष पराजुलीले सोधेको स्पष्टीकरणमै आयोगको बैठकमा सदस्यहरुलाई उजुरी र कारवाहीको प्रकृयाबारे जानकारी गराइएको उल्लेख छ ।
स्पष्टीकरणमा उल्लेख भएअनुसार आयोग अध्यक्षले गत १४ भदौमा बसेको बैठकमै सबै सदस्यलाई राष्ट्र बैँकका अधिकृतहरुबाट राष्ट्र बैँकमै कार्यरत एक महिला कर्मचारीमाथि हिंसा भएको उजुरी परेको र आयोगले कारवाही अघि वढाएको बारे जानकारी गराएको उल्लेख छ ।
‘उजुरी शाखाबाट सम्पादन भएका कार्यहरु बारेमा आयोगको मिति २०८१/५/१४ को आयोगको ५५औं बैठकमा शाखा प्रमुखले ब्रिफिङ्ग पनि गर्नुभएको हो । तपाईंहरुद्वयले सो समय उजुरीको आरम्भदेखि नै औपचारिक जानकारी र ब्रिफिङ्ग नभएकोले अहिले सुनाउनु पर्दैन भन्नुभएको थियो,’ स्पष्टीकरणमा भनिएको छ ।
अध्यक्ष पराजुलीले सोधेको स्पष्टीकरणमा आयोगका सदस्यले नै पूर्व जानकारीमा भएको विषयलाई थाहा नभएको जस्तो गर्नु, आयोगले हिंसामा संलग्न देखेका आरोपितसँगै राखेर आयोगका कर्मचारीलाई सफाइ पत्र तयार गर्न दवाव दिएर शंकास्पद, अनैतिक र आचरणहीन काम गरेर आरोपितको पक्षपोषण गरेको उल्लेख छ ।
‘अहिले तपाईंहरु आफै आरोपितहरुसँग भेटघाट गर्ने र सम्बन्धित कर्मचारीहरुलाई बोलाएर आयोगको निष्कर्ष विपरीत माननीयज्यूहरुकै सामुन्ने आरोपितले पत्र तयार गर्न दबाब दिनु भनेको शंकास्पद, अनैतिक र आचरणहीन कार्य हो र यो गतिविधिबाट तपाईंहरुले सरासर आरोपितको पक्षपोषण गरेको देखिएको छ’ स्पष्टीकरणमा भनिएको छ ।
महिलाको हकहीतका लागि काम गर्नुपर्ने महिला आयोगकै सदस्यबाट अमर्यादित काम भएको भन्दै पराजुलीले यो विषयमा २४ घन्टा भित्रमा प्रष्ट जवाफ दिन भनेकी छन् ।
‘जनसंख्याको आधा हिस्सा महिलाको हक, हित, अधिकार र न्यायका लागि भूमिका निर्वाह गर्ने संवैधानिक दायित्व लिएका आयोगका माननीयज्यूहरुबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद र अमर्यादित कार्य भएको हुँदा यस सम्बन्धमा २४ घण्टा भित्रमा स्पष्ट पारी अध्यक्षको सचिवालयमा लिखित जवाफ पेश गर्नुहुन अनुरोध गरिन्छ,’ स्पष्टीकरणमा भनिएको छ ।
कृष्णकुमारीको झुटो खण्डन
आरोपितलाई उन्मुक्ति दिन लागिपरेको भन्दै अध्यक्ष पराजुलीले स्पष्टीकरण सोधेका आयुक्त कृष्णकुमारी पौडेल खतिवडाले वडापालिकामा झुटो खण्डन प्रकाशन गरेको खुलेको छ ।
वडापालिका डटकममा ‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो शीर्षकमा १३ मंसिरमा समाचार प्रकाशन भएको थियो ।
सो समाचारमा ध्यानाकर्षण भएको भन्दै खतिवडाले वडापालिकामा कार्यरत संवाददाताको फेसवुक म्यासेन्जरमार्फत समाचारको खण्डन पठाएकी थिइन् ।
उनको खण्डनलाई वडापालिकाले ‘महिला आयोगमा भाँडभैलो’प्रति सदस्य कृष्णकुमारीको आपत्ति र वडापालिकाका ३ प्रश्न, ५ तथ्य शीर्षकमा प्रकाशन गरेको थियो ।
सो खण्डनमा खतिवडाले महिला आयोगका कर्मचारीलाई सँगै राखेर मिश्र र ढकाललाई सफाइ पत्र दिन दवाव नदिएको, आफुले भेट्न बोलाएको नभइ कार्यालय अघिको बाटोमा उभिएको देखेपछि चिया खान मात्र बोलाएको दाबी गरेकी थिइन् ।
तर अध्यक्ष पराजुलीले उनलाई सोधेको स्पष्टीकरणमा भने आयोगका उजुरी शाखाका कर्मचारी, सरकारी वकिललगायतसँग गरिएको सोधपुछका क्रममा खतिवडा र अर्की सदस्य विद्याकुमारी सिन्हाले कर्मचारीलाई आरोपितकै अघि राखेर कुराकानी गरेको र खण्डन पत्र दिन दवाव दिएको उल्लेख छ ।
जवकी खतिवडाले खण्डन भन्दै म्यासेन्जरमा पठाएका २ वटा सामग्रीमा भने आफुले यी कार्य नै नगरेको दाबी छ ।
सम्बन्धित समाचारहरू
‘महिला आयोगमा भाँडभैलो’प्रति सदस्य कृष्णकुमारीको आपत्ति र वडापालिकाका ३ प्रश्न, ५ तथ्य
‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो
गभर्नरले प्रक्रिया नपुर्याउँदा महिला हिंसामा दोषी देखिएका आचार्य यसरी भए पुनर्वहाली
महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई महिला हिंसामा कसरी दोषी देख्यो ?
राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर