Odapalika - The Fourth Estate - चौथो अंग
मधेश मिसनमा प्लानका सिइओ, मुख्यमन्त्रीसहित स्थानीय जनप्रतिनिधिसँग भेट

जनकपुरधाम । प्लान ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनले जनकपुर भ्रमण गरेका छन् । सोमबार प्रमुख कार्यकारी अधिकृत सिम्पसनसहित प्लान ईन्टरनेशनलका विभिन्न देशका प्रतिनिधिहरुको टोलीले समतामुलक तथा समावेशी शिक्षा परियोजना लागु भएका विभिन्न स्थानको स्थलगत भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा धनुषास्थित गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादवले परियोजनाले नगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान दिएको भन्दै परियोजनाको प्रशंसा गरे । 
‘समतामुलक तथा समावेशी शिक्षा परियोजना यो नगरपालिकाका लागि निकै उपयुक्त र प्रभावकारी बनेको छ’ प्रमुख यादवले भने ‘विद्यालयको शैक्षिक वातावरण विद्यार्थीमैत्री बनाउन परियोजनाले राम्रो काम गरेको मैले पाएको छु ।’ 

भेटको क्रममा प्रमुख यादवले अति विपन्न परिवारका विद्यालय जान नसकेका र विचैमा पढाई छाडेका थुप्रै विद्यार्थीहरुले परियोजनाको पहलमा पुन विद्यालयमा जोडिने अवसर पाएको उल्लेख गरे ।

यद्यपी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा भौतिक संरचनाको अभावले गुणस्तरीय शिक्षा प्रदान गर्न कठीन बनिरहेको नगर प्रमुख यादवको भनाई थियो । यस सन्दर्भमा आफुले दातृ निकायसँग सहकार्य गर्न चाहेको नगर प्रमुख यादवले बताए ।

भ्रमण टोलीले सोही नगरपालिकाको वडा नं. ३ स्थित श्री माध्यमिक विद्यालयको स्थलगत भ्रमण समेत गरे । सो क्रममा भ्रमण टोलीले शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग विविध विषयमा छलफल गरे । 
युएसएआईडीको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनल नेपालले स्थानीय साझेदार आसमान नेपालसँग सहकार्य गरि कार्यान्वयन गरेको समतामुलक तथा समावेशी शिक्षा परियोजनामार्फत  धनुषाका विभिन्न विद्यालयमा कमजोर सिकाई भएका विद्यार्थी केन्द्रित उपचारात्मक कक्षा सञ्चालन, बालबालिका तथा आपांगमैत्री खानेपानी, शौचालय र स्वच्छता (वास) संरचनाको व्यवस्थापन, विद्यार्थीमैत्री ईसिडि कक्षाको व्यवस्थापन लगायतको काम गरेको छ । 
उसले गुनासो सुनुवाई संयन्त्र परिचालन, बाल अधिकार समितिको गठन, विद्यालयको आन्तरिक सुशासन अभिवृद्धिमा समेत पहलकदमी लिएको छ ।

सोमबार नै प्लान ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किसनसहित विभिन्न देशका प्रतिनिधिहरुसँगै धनुषाको भ्रमण गरेका छन् । टोलीले शिक्षा परियोजना र किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न गतिविधिको स्थलगत भ्रमण गरेका हुन् ।

plan-1733226521.jpg
यसपछि टोलीले दीक्षित परिवर्तनका संवाहक (ग्राजुएट सिओसी) समुहसँग अन्तरक्रिया गरेको थियो । सो क्रममा दीक्षित परिवर्तनका संवाहकहरुले आफैले सिर्जना गरेका मिथिला चित्रकला प्रस्तुत गरे । जसमार्फत सचेतना विस्तारको काम गरिरहेको किशोरकिशोरीले बताए । 

भ्रमण टोलीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा मुख्यमन्त्री सिंहले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासको पाटो पनि प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । 
यसका लागि परिणाममुखी नतिजा हाँसिल गर्न दातृ निकायसँग पनि सहकार्य गर्दै अघि बढ्ने ईच्छा रहेको मुख्यमन्त्री सिंहको भनाई थियो । ‘सरकारको प्राथमिकता अनुसार गैरसरकारी संस्थाहरुले परियोजनाको डिजाईन र कार्यान्वयन गर्न सके नतिजा हाँसिल गर्न सम्भव छ’ छलफलका क्रममा मुख्य मन्त्री सिंहले भने ।

सो क्रममा मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानी कुमारी तिवारीले भने शिक्षक विद्यार्थीको असन्तुलित अनुपातले शिक्षा क्षेत्र प्रताडित रहेको बताईन् । 

जवाफमा प्लान ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनले सरकारको प्राथमिकतालाई सघाउन प्लान इन्टरनेशनल सदैव तयार रहेको बताइन् । ‘मधेश प्रदेशको शैक्षिक गुणस्तर सुधारमा हामी सहकार्य गरेर अघि बढ्न सक्छौँ’, सिईओ सिम्पसनले थपिन्, ‘सबै सरोकारवालाबिच बलियो सहकार्य भए जुनसुकै नतिजा पनि प्राप्त गर्न सकिन्छ ।’ 

भेटमा सिईओ सिम्पसनसहित, युएसएआईडीका प्रतिनिधि, प्लान ईन्टरनेशनलका एसिया प्यासिफिक निर्देशक भाग्यश्री देंगले, नेपालका लागि राष्ट्रिय निर्देशक राम किसनका साथै चीन, जापान, बंगलादेश, अष्ट्रेलिया, युगान्डा, नेदरल्याण्डका प्रतिनीधिहरु पनि सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update