काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाले वडा कार्यालयबाटै योजनाको सम्झौता र भुक्तानी गर्न थालेको छ ।
चुरे क्षेत्रमा रहेको यो नगरपालिकामा १२ वटा बडा छन् । नगरपालिकाले चालु आर्थिक वर्षका योजना वडा कार्यालयमा सम्झौता गर्न थालेको हो । योजनाको काम भइसकेपछि भुक्तानी पनि बडा कार्यालयबाटै दिइने परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले जानकारी दिए ।
वडा नम्बर १० का २० वटा योजनामध्ये १४ वटाको मगलबार सम्झौता र बैँक खाता खोलिएको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतलगायत योजना शाखाका कर्मचारी र बैकका कर्मचारीको टोली वडा कार्यालयमा पुगेर योजना सम्झौता अद्दि वढाउन सहजीकरण गरेका छन् ।
वडा नम्बर १२ र ४ बाहेकका १० वटै वडामा टोली पुगेर योजनाको सम्झौतासँगै बैक खाता खोल्ने तयारी छ । बडामै योजनाको सम्झौता गर्ने, बैक खाता खोल्ने र भुक्तानी पनि वडा कार्यालयबाटै हुने भएपछि उपभोक्ता समितिलाई निकै सहज भएको स्थानीयको भनाइ छ ।
वडा नम्बर १० को कार्यालयबाट पालिकाको कार्यालयसम्म पुग्न एक दिनको पैदल बाटो हिँड्नु पर्छ । गाडी भाडा मात्र ५०० रुपैयाँ तिर्नुपर्ने वाध्यतामा स्थानीय छन् ।