Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन परिणामले हौसियो माओवादी, अब ०८४ मा एक्लै लड्ने निर्णय

काठमाडौँ । हालै स्थानीय तहको उपनिर्वाचन भयो । सो निर्वाचनमा केहीबाहेक अधिकांशमा माओवादी केन्द्र गठबन्धन र तालमेलविना नै चुनावी प्रतिस्पर्धामा सामेल भयो । 

आइतबार भएको उपनिर्वाचनको सोमबार साँझसम्ममा सबै परिणाम सार्वजनिक भइसकेको थियो । जसमा माओवादी तेस्रो स्थानमा देखियो । तर, उसले २०७९ सालको निर्वाचनको परिणामलाई भने सुधारेको छ । एक पालिका प्रमुख, ३ पालिका उपप्रमुख र सात वडाध्यक्षमा निर्वाचित भएको माओवादी केन्द्रले अघिल्लो निर्वाचनको तुलनामा उपनिर्वाचनमा पालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष एक गरी तीन पदमा थपेको छ ।  

४४ पदका लागि भएको उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा थप पालिका प्रमुखसहित तीन पदमा विजयी भएको माओवादीले ११ पदमा निर्वाचित भयो । 

हौसियो माओवादी 

स्थानीय तह उपनिर्वाचनको परिणामबाट हौसिएको माओवादी केन्द्रले आफूहरुको एजेण्डा जनताले अनुमोदन गरेको भन्दै २०८४ सालमा हुने निर्वाचनमा एक्लै प्रतिस्पर्धामा जाने निर्णय गरेको छ ।  

प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकार दिए । 

कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार दोस्रो हुनुलाई पनि विजयी सरह पार्टीले लिएको प्रवक्ता सापकोटाको भनाइ छ । 

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update