Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको छुट्टै सञ्चार रजिष्ट्रार, यस्ता छन् अरु व्यवस्था

काठमाडौँ । काठमाडौँ महानगरपालिकालेले बेग्लै सञ्चार रजिष्ट्रार राख्नेदेखि पत्रकार परिचय पत्र (प्रेस पास) जारी गर्नेसम्मका अधिकार समेटेर सञ्चार तथा सूचना विधेयक पारित गरेको छ । 

महानगरले जारी गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कानुनको रुपमा कार्यान्वयनमा आउने छ । 

सञ्चार व्यवस्थापन, तथ्यांक संकलन, खुल्ला तथ्यांक वितरण, विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभूत गराउन यो विधेयक ल्याइएको महानगरले जनाएको छ ।

पत्रकारिता, प्रकाशन तथा प्रसारण, विज्ञापन व्यवस्थापन लगायतका विषय विधेयकमा समेटिएको छ । 

१० वटा परिच्छेद रहेको विधेयकमा ६७ दफा छन् । सञ्चार माध्यमको व्यवस्थापन, सञ्चार रजिष्ट्रार र सञ्चार प्रतिष्ठान, जनशक्ति र आन्तरिक सञ्चार व्यवस्थापन, पत्रकारिताको विकास र प्रवर्धन, विज्ञापन नियमन, प्रवर्धन र व्यवस्थापन, सूचनाको हक कार्यान्वयन, सूचना, अभिलेख र तथ्यांक व्यवस्थापन विधेयकमा समेटिएका मुख्य विषय हुन् । 

यसअन्तर्गन प्रकाशन, प्रसारणको अभिलेखन, प्रेस पास जारी, सूचना केन्द्र, वेभसाइट, इमेल, सामाजिक सञ्जालको प्रयोग, प्रवक्ता, सहायक प्रवक्ता, सूचना अधिकारीको व्यवस्था, सञ्चार संस्था, पत्रकार र कर्मचारीको सुरक्षा लगायत व्यवस्था छन् । 

स्थानीय भाषा, संस्कृतिलाई विशेष सुविधा, पत्रकारिता अनुसन्धानलाई प्रोत्साहन, विज्ञापन व्यवस्थापन र वितरण, लोककल्याणकारी विज्ञापन, राष्ट्रिय र प्रदेश तथ्यांक प्रणालीमा आवद्धता, तथ्यांकमा आधारित नवप्रवर्तन, सीसीटिभी जडान र डाटा सुरक्षाको विषयलाई विधेयकमा समेटिएको छ । बौद्धिक सम्पत्ति, पारिश्रमिक सम्बन्धी व्यवस्था विधेयकमा समावेश छ ।

संविधानले स्थानीय तहलाई दिएको सूचना, सञ्चार तथा तथ्यांक अभिलेख सम्बन्धी एकल र साझा अधिकारको प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक पर्ने संस्थागत प्रबन्ध, समन्वय र सहकार्य, सार्वजनिक महत्वका विषयमा जानकारी लिन सूचनाको पहुँच जस्ता विषय विधेयकको विधायिकी मर्म हो ।  

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update