काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
औषधि खरिदमा अनियममिता गरेको ठहर गर्दै अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बगाल, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालीन जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ्ग मल्टिपर्पोज प्रा.लि तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधवप्रसाद गौतविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बगालेसहित पाँचैजनाविरुद्ध समान ४ लाख ६० हजार ८१० रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरिएको छ ।
बिक्रेतासँगको मिलेमतोमा औषधि खरिद नगरेर बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी परेपछि अनुुसन्धान गर्न उनीहरुको अनियमितता भएको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको अख्तियार प्रवक्ता घिमिरेले जानकारी दिए ।