काठमाडौँ । काठमाडौँमा छैटौँ ग्लोबल इन्टरनेसनल कन्फरेन्स सुरु भएको छ । अनुसन्धान, डिजिटल प्रविधि र व्यवस्थापन क्षेत्रका विविध विषयमा छलफलको मञ्च प्रदान गर्ने उद्देश्यले बिहीबारटदेखि कन्फरेन्स सुरु भएको हो ।
ग्लोबल कलेज इन्टरनेसनलद्वारा आयोजित यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डा. ध्रुवकुमार गौतमले गरेका हुन् । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
त्यस्तै, कन्फरेन्स चेयरको रूपमा डा. पुष्कर बज्राचार्य रहेका थिए । उनले विज्ञान प्रविधिसँगै दिगो र पर्यावरणमैत्री विकासमा जोड दिनुपर्ने धारणा राखे ।
त्यस्तै, कार्यक्रममा ५ सयभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सहभागी भएका थिए । शिक्षाविद्, अनुसन्धानकर्ता, उद्यमी र विद्यार्थीहरूको सहभागिताले यस कार्यक्रमलाई ज्ञान र नवीनताको साझा मञ्च बनाएको छ ।
उक्त कार्यक्रममा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले कृत्रिम बौद्धिकता र सूचना प्रविधि व्यवस्थापनसँग सम्बन्धित विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पाँच दर्जनभन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिए, जसमा व्यवस्थापन, उद्यमशीलता, बैंकिङ, वित्त र डिजिटल प्रविधिका क्षेत्रमा नवीनतम अनुसन्धान समेटिएको छ । प्रस्तुत अनुसन्धानपत्रहरूमध्ये केहीलाई जर्नल अफ म्यानेजमेन्ट साइन्स एन्ड रिसर्चमा प्रकाशनका लागि छनोट गरिने पनि आयोजक कलेजले जनाएको छ ।
ग्लोबल इन्टरनेसनल कलेजका अनुसार कार्यक्रम शुक्रबारसम्म जारी रहनेछ, जसमा शिक्षाविद्, सरकारी अधिकारी र सूचना प्रविधि क्षेत्रका विज्ञहरूले कृत्रिम बौद्धिकता र व्यवस्थापनसँग सम्बन्धित अवसर र चुनौतीहरूमाथि चर्चा गर्नेछन् ।
यसरी कार्यक्रममा सहभागीहरूले अनुसन्धानमूलक ज्ञानको आदानप्रदान गर्दै भविष्यमा सामना गर्नुपर्ने चुनौतीहरूका समाधान खोज्न सक्ने विश्वास राखिएको आयोजकले जनाएको छ ।