Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगर र घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध 

ललितपुर । ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । महानगरका प्रतिनिधिसहित मुस्ताङ पुगेका नगरप्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

घरपझोङ गाउँपालिकाको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बताए ।

समझदारीपत्रमा हस्ताक्षरपछि उनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए ।    

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए  । आफ्नो निमन्त्रणालाई स्वीकार गरेर महानगरप्रमुख सहितको प्रतिनिधिमण्डल पालिकामा आएर भगिनी सम्बन्ध स्थापित गर्न पाएकामा खुसी व्यक्त गरे ।

हिमालपारिको यस जिल्लामा गर्नुपर्ने काम धेरै भए पनि वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको उनको भनाइ थियो । 

ललितपुर महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरूपता रहेको बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि विकासमा साझेदारी र असल अभ्यासको अनुकरण र अनुसरण गर्न सहज हुने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update