काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्यताका लागि सडकको रुखमा राख्दै बत्ती अब भने नराख्ने भएको छ । आइतबार बसेको काठमाडौं महानगरपालिकाको ३७औँ नगर कार्यपालिका बैठकले अब रुखमा बत्ती राख्न नपाउने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेसँगै अब रुखमा बत्ती राख्न नपाउने भएको हो । सहरको सौन्दर्यताका लागि भन्दै पछिल्लो समय निजी घरका, सार्वजनिक स्थानका र होटल तथा रेष्टुरेन्ट परिसरका रूखमा झिलिमिली बत्ती राख्ने गरिएको थियो ।
अब सो निर्णय भएसँगै महानगरभित्र अबदेखि कुनै पनि व्यक्ति वा संस्थाले सार्वजनिक र निजी स्थानका रूखमा लहरे बत्ती प्रयोग गर्न नपाउने भएको हो ।
मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरूङ्गीको जीवनचक्र, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा प्रतिकूल असर नपर्ने गरी राख्न चाहनले भने महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्नेछ ।