काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ८८ प्रतिशत म:म पसल फोहोर भएको पाइएको छ ।महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले गरेको अनुगमनका क्रम:मा ८८.२४ प्रतिशत म:म पसल फोहोर भएको पाइएको हो ।
म:म पसलहरुमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको महानगरले जनाएको छ ।
गएको कात्तिक २९ गतेदेखि टोलीले हालसम्म अनगुमन गरेका ८५ वटा म:म बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटामा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा (७७.६५ प्रतिशत) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८प्रतिशत) व्यवसाय दर्ता नै भएका छैनन् ।
सुन्धारा, न्युरोड, मखन, त्यौड, कलमपोखरी, महाराजगञ्ज, पुरानो बानेश्वर, टंगाल, हाँडीगाउँ, त्रिपुरेश्वर, कोटेश्वर, कलंकी, ठमेल क्षेत्रमा मःम बनाउने र विक्री गर्ने पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको थियो ।
उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन् । मसला राख्ने भाँडा फोहर छ । भान्छाको भुइँमा पानी जमेर फोहर छ । डस्टविनको उचित प्रयोग भएको छैन । पकाएका खानेकुरा खुला राख्ने गरिएको छ । मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ । किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।
फ्रिज सफाइ गरिएको छैन । फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको छ । त्यहाँ राखिएको अचार र मसलामा लेवल राखिएको छैन । मसला राख्ने भाँडा, म:म बनाउने टेबल र मेसिन फोहर छ । भाँडा माझ्ने ठाउँ झन् फोहर छ । व्यक्तिगत सामान भान्छामा राखिएका छन् । मूल्य सूची छैन । यी र यस्ता कमजोरी अधिकांश म:म पसलमा पाइन्छ ।
यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रुपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको छ ।