Odapalika - The Fourth Estate - चौथो अंग
वालमैत्री घोषणा सभामा रायोको साग उपहार पाएपछि...

काठमाडौँ । बागलुङ नगरपालिकाकाको दुर्गम गाउँ रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा कार्यक्रममा आइतवार गज्जवको दृष्य देखिएको छ । 

आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका  अतिथि नगरपालिकाको वडा नम्बर ११ लाई वालमैत्री वडा घोषणा गर्न पुगेका थिए । 

बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए । 

कलिलो सागको मुठा पाएपछि अतिथिहरु दंग देखिए । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए । 

आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताए ।

वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतम बताउँछन् ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताए ।    बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update