काठठमाडौँ । रागिनी उपाध्याय कला प्रतिष्ठानले एकजना पत्रकारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ । नेपालमा कलाको विकास, अनुसन्धान र प्रवर्द्धन गर्न वार्षिक रुपमा एकजना पत्रकारलाई एक लाख रुपैयाँ पुरस्कार र दुईजना विद्यार्थीलाई जनही ५० हजार छात्रवृति प्रदान गर्न कोष स्थापना गरिएको प्रतिष्ठानका सचिव प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रतिष्ठानको बैठकले नेपालमा कलाको विकास, अनुसन्धान र प्रवर्द्धनलागि प्रोत्साहन गर्न वार्षिक रुपमा एकजना पत्रकारलाई सो क्षेत्रमा योगदान पुर्याएवापत एक लाख रुपैयाँको पुरस्कार र दुईजना विद्यार्थीलाई जनही ५० हजारको छात्रवृति दिने गरी कोषको स्थापना गर्ने निर्णय गरेको हो ।
सो कोषका लागि शुरुआतमा रागिनी उपाध्याय, भाष्कर कोइराला र सिर्जना राणाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त पुरस्कार र छात्रवृति हरेक वर्ष नोभेम्बर ९ तारिखमा प्रदान गरिने उनले जानकारी दिए ।
प्रतिष्ठानमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी पुर्व कुलपति रागिनी उपाध्याय अध्यक्ष, उपाध्यक्ष डा स्वर्णिम वाग्ले, सचिव प्रा डा गोविन्दराज पोखरेल, कोषाध्यक्ष सुप्रिया पौडेल, सदस्यहरु वरिष्ठ पत्रकार अखिलेश उपाध्याय, ललितकला क्याम्पसका प्राध्यापक डा रमेश पोखरेल, पर्यटन तथा होटल व्यावसायी सिर्जना राणा, भाष्कर कोइराला र प्रतिमा थकाली छन् ।