काठमाडौँ । सरकारी कर्मचारीको कार्यशैलीप्रति सेवाग्राही असन्तुष्ट छैनन् । कर्मचारीले सेवाग्राहीप्रति उत्तरदायी भएर काम नगर्नुमा राजनीतिलाई दोष दिइने गरिन्छ । तर, कर्मचारी भने राजनीतिलाई दोष दिन्छन् ।
राजनीतिक र कर्मचारीबीचको मारमा सेवाग्राही पर्दै आएका छन् । यही बेला कांग्रेस सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्री, मुख्यसचिवको निर्देशनलाई कर्मचारीले नटर्ने गरेको बताएका छन् ।
भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सभापति खतिवडाले प्रधानमन्त्रीको निर्देशन पनि कर्मचारी नमान्ने गरेका गुनासो गरे ।
मुख्यसचिवले कर्मचारीलाई दिएको निर्देशन पालना नहुने गरेको भन्दै उनले तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन भने कर्मचारीले १० मिनेटमै गर्ने गरेको बताए । यद्यपि, अख्तियारले कर्मचारीको गलत प्रवृत्ति र भ्रष्टचार नियन्त्रणमा आफूसँग भएको डन्डा, कानुन र हत्कडी लगाउने कार्य सहीरूपमा प्रयोग हुनुपर्ने उनले बताए ।