काठमाडौँ । सहकारीको रकम अपचलनको सम्बन्धमा अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले गरेको अड्डासारको आलोचना भइरहेको छ ।
केही दिनअघि अनुसन्धानका लागि चितवन ल्याइएका रविलाई मध्यराति पोखरा लगिएको विषयलाई लिएर सरकार र प्रहरीको आलोचना भइरहेको छ ।
रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ भने राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत विरोध जनाएका छन् । सत्तारुढ दल कांग्रेसकै शेखर कोइरालाले पनि मध्यराति सुतेका रविलाई उठाएर पोखरा लगेकामा आपत्ति जनाए ।
तर, गृहमन्त्री रमेश लेखकले प्रहरीबाट रविमाथि अभद्र व्यवहार नभएको दाबी गरे । यसबारे थप भने, ‘रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरामा सत्यता छैन । सरकार प्रत्येक व्यक्तिको मानव अधिकारको रक्षा गर्ने विषयमा गम्भीर छ ।’
प्रहरीको अनुसन्धानलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै उनले प्रहरीको कार्यको बचाउ गरेका छन् । प्रदेशस्तरीय सुरक्षा परिषदको बैठकमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री लेखकले प्रहरी हिरासतमा रहेका रविमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी गतिविधि भइरहेको बताए ।
माओवादी केन्द्रको समर्थनमा रास्वपाका नेता तथा कार्यकर्ताले अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको भन्दै उनले विधिको शासन उल्लंघन गरेर गरिने गतिविधिले न्याय नदिने बताए ।
रकम अपचलनका विषयमा रविसहित अन्य व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको बताउँदै गृहमन्त्री लेखक भन्छन्, ‘...रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन् । अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय, वकिल कार्यालय र अदालत घेरा हाल्ने काम भइरहेको छ, यस्ता विधिको शासन उल्लंघन गरेर गरिने गतिविधिले न्याय दिने होइन। न्याय दिने निकायले आफ्नो तरिकाले काम गरिरहेका छन् ।’