झापा । बलात्कारको आरोपमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत झापाले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा सिवाकोटीलाई सोमबार इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको थियो ।
पढाइदिने सर्तमा घरमा राखिएकी किशोरीलाई बलात्कार गरेको उनीमाथि आरोप छ । पीडित किशोरीको बुबा छैनन् भने आमा भारतको आसाममा बस्छिन् ।
सिवाकोटीबाट पीडित भएकी ती किशोरी भारत जान लागेका बेला उद्धार गरेपछि घटना बाहिर आएको हो । घटनाबारे पीडित किशोरीले बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइदिएपछि अनुसन्धान सुरु गरिएको हो ।