Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका मुख्यमन्त्रीको सपथ आज, आजै सानो आकारको मन्त्रिमण्डल

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार  कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्कत कार्कीले आज मुख्यमन्त्रीका रूपमा सपथग्रहण गर्ने भएका छन् । 

सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता उद्धव थापाले लिएको विश्वासको मत अवैधानिक भन्दै सवैभन्दा ठूलो दलका नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न हिजो आदेश दिएको थियो । 

अदालतको आदेशअनुसार प्रदेश प्रमुखको सचिवालयले सवैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेतालाई नियुक्ति र सपथग्रहणको तयारी भइरहेको बताएको छ । 

एमालेले मुख्यमन्त्रीसँगै २ जना मन्त्रीको सपथग्रहण पनि गराउने तयारी गरेको छ । एमाले नेताहरुका अनुसार तिलकुमार मेयाङ्वो र एकराज कार्कीलाई मन्त्रीका रुपमा सपथग्रहण गराउने तयारी भएपनि मन्त्रालयको भने टुंगो लागिनसकेको जनाएको छ । 

अदालतको आदेश अनुसार नियुक्त हुन लागेका नयाँ मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । यदि उनले विश्वासको मत लिन सकेनन् भने प्रदेशसभाको कुनै सदस्यले बहुमतको दाबीसहित मुख्यमन्त्रीमा दाबी गर्न पाउने छन् । यसरी दावी गरिएका मुख्यमन्त्रीलेसमेत विश्वासको मत पाउन सकेनन् भने कोशी प्रदेशसभा मध्यावधिमा जानेछ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update