Odapalika - The Fourth Estate - चौथो अंग
सहरका जनताले मन नपराएपछि एमाले गम्भीर, अब के गर्छ ?

काठमाडौँ । राजनीतिक दलको हैसियत मापन निर्वाचनले गर्छ । निर्वाचनबाट व्यक्त भएको जनमतले नै उनीहरुको दलीय अवस्था र नीति तथा कार्यक्रम स्वीकारोक्तिबारे बुझिन सकिन्छ । हालै स्थानीय तहको उपनिर्वाचन सम्पन्न भयो । यसपछि दलहरुले यसबारे समीक्षा गर्दै आ–आफ्नो पार्टीको निष्कर्ष सार्वजनिक गरिरहेका छन् । 

यसैक्रममा यही मंसिर १६ गते ४४ पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनको परिणामलाई सन्तोषजनक रहेको एमालेको निष्कर्ष छ । तर, सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको ठहर गरेको एमालेले अब सहरका जनतासँग जोडिनुपर्ने निष्कर्ष निकालेको छ । 

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकमा उपनिर्वाचनको समीक्षा गरिएको छ । एमालेले समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको ठहर गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकाले परिणालाई सन्तोषजनक रुपमा लिइएको हो । 

तर, काठमाडौँ महानगरपालिका वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकाको नतिजालाई गम्भीर रुपमा लिँदै सहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेको उनले बताए । सहरी जनतासँग एमाले थप जोडिँदै जानुपर्ने र यसका लागि आवश्यक कार्यक्रम बनाउनुपर्नेमा बैठकले जोड दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update