कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले पालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई १५ हजार रुपैयाँ पुरुस्कार दिने भएको छ । नगरपालिकाले केही सर्त राखेर प्रतीक चिह्न डिजाइन गराउन खोजेको हो । प्रतिस्पर्धाबाट छानिएको डिजाइनको डिजाइनकर्तालाई १५ हजार रुपैयाँ पुरस्कार दिने सार्वजनिक सूचनामा उल्लेख छ ।
नगरपालिकाको चिनारी झल्कने संकेत चिह्नसँगै नगरपालिकाको नक्सा र नेपालको राष्ट्रिय झण्डाको प्रयोग हुनुपर्ने सर्त राखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए ।
उनका अनुसार प्रतीक चिह्न अधिकतम तीन सेन्टिमिटर व्यासको हुनुपर्ने र नगरपालिको मूल पहिचान झल्कने संस्कृति, रहनसहन, पर्यटकीय स्थान, प्राकृतिक सम्पदा समावेश गरिएको हुनुपर्नेछ ।
प्रतीक चिह्न कलात्मक र मापन योग्य हुनुपर्ने जानकारी गराइएको छ । छनोट भएको प्रतीक चिह्नको सम्पूर्ण अधिकार नगरपालिकाको हुनेछ । डिजाइनकर्ताले अन्य ठाउँमा सो प्रतीक चिह्न प्रयोग गर्न पाउनेछैन । प्रतीक चिह्नको प्रस्तावका साथ रङ्गीन र श्याश्वेत एकप्रति कागजमा गरिएको प्रिन्ट पाना, पेन ड्राइभ वा नगरपालिकाको इमेल ठेगानामा डिजाइन पेस गर्नुपर्नेछ ।
प्रतीक चिह्नका लागि बुधबार (मंसिर २६)देखि १५ दिनभित्र प्रस्ताव पेस गर्न नगरपालिकाले सार्वजनिक सूचनाले निकालेर आह्वान गरेको छ ।