Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरभित्र १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान कार्य सुरू

काठमाडौँ । वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाभित्रका १८ ठाउँमा यन्त्र जडान गर्न थालिएको छ । उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन काठमाडौँ प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान गरेर सुरुआत गरेकी हुन् । 

पहिलो दिन मंगलबार वडा नं. १७ का अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालयमा र वडा नं. २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले शान्ति विद्यागृह माध्यमिक विद्यालय लैनचौरमा उपकरण जडानको सुरुआत गरेका हुन् । 

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजसँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको हो । हेल्दी सिटिज (स्वस्थ्य सहर) गैरसंक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । यो सञ्जालको महानगरपालिका सदस्य हो । बिश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भइरहेको छ । 

प्रदूषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वस्थ्य सहर निर्माण गर्न धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा छ । पार्क तथा हरियाली प्रवर्धन आयोजना सञ्चालन गरिएको छ । खुला रुपमा आगो बाल्न निषेध गरिएको छ । हाँडीगाउँमा कार फ्रि शनिवारको कार्यक्रम सञ्चालन गरिएको छ । फोहरलाई स्रोतमा वर्गीकरण अभ्यासलाई प्रवर्धन गरिएको छ । वातावरणीय शिक्षाका लागि विद्यालयस्तरीय वातावरण र बालबालिका कार्यक्रम सञ्चालन गरिएको छ । 

यी ठाउँसँगै कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा यन्त्र जडान हुनेछ । 

यस्तै चक्रपथको ठूलो भ¥याङ, बौद्ध, रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वर, टेकु ट्रान्सफर स्टेशन, वडा नंं २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल, जडीबुटी उत्पादन तथा प्रसोधन कम्पनीको कार्यालय, जडीवुटी, वडा नं. ५ कार्यालय, नरःदे, वडा नं. २३ कार्यालय ओमवहाल, वडा नंं १ को सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नक्साल र वडा नं. ३१ कार्यालय परिसरमा यन्त्र जडान हुनेछ ।  

महानगरपालिकाले पुस महिनालाई ‘वायु प्रदूषण सचेतना’ महिनाका रुपमा कार्यक्रम सञ्चालन गर्दैछ । परियोजना प्रमुख इञ्जिनियर सञ्जीव पाण्डेका अनुसार क्ल्यारिटी नोड–एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थामा हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् । यसबाट उत्पादन भएका तथ्याङ्कहरु उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा पठाउँछन् । उपकरणले प्रदान गरेका तथ्याङ्कलाई वेब पोर्टल र मोबाइल एप्लिकेसनका माध्यमबाट सर्वसाधारणको पहुँचमा पुर्‍याउने योजना छ ।

स्वस्थ्य सहर परियोजना गैर संक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । बिश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भएको छ । 

पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरु सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्तप्रवाहमा मिसिन सक्छन् । यसैकारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने भनेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update