काठमाडौँ । काठमाडौँ महानगरले हरेक वर्ष मंसिर २९ गते आफ्नो स्थानपना दिवस मनाउँदै आएको छ । यस वर्ष ३०औँ महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको छ । समितिका सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल र विषयगत समितिका संयोजक र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सदस्य सचिव छन् ।
दिवसका अवसरमा महानगरले विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन गरिरहेको छ । त्यस्तै मंसिर २७ गते मेयरको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी मंसिर २८ गते सम्पदा तथा पर्यटन विभागले परम्परागत बाजा तथा गुठीखलका गुरुको सम्मान, शिक्षा विभागबाट आयोजना गरिएका प्रतियोगिहरुलाई त्यसै दिन पुरस्कार वितरण तथा मंसिर २९ गते औपचारिक समारोह आयोजना गरिनेछ । उक्त दिन महानगरका सबै वडाको प्रतिनिधित्व हुनेगरी फुड फेस्टिवलको आयोजना गरिएको छ ।
दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्चमा हुनेछ । सांस्कृतिक तथा सांगीतिक कार्यक्रम अपरान्ह ३ बजेदेखि टुँडिखेल मैदानमा हुनेछ ।
मूल समारोह समितिको पहिलो बैठकले औपचारिक कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी गर्ने, विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्व सम्मान गर्ने, अपरान्हबाट सांगीतिक कार्यक्रम आयोजना गर्ने, सांस्कृतिक पहिचान हुने मौलिक खानाको प्रवर्धनका लागि फुड स्टल राख्ने, एक वडा एक नमूना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गर्ने निर्णय गरेको छ ।
दिवसका अवसरमा वडाहरुले सप्ताहव्यापी रुपमा कार्यक्रम मनाउने, मूल समारोह समितिबाट निर्णय भएको सहायक प्रवक्ता एवं प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुखको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीविच मैत्रीपूर्ण फुटवल खेल आयोजना हुनेछ । यस्तै शिक्षा विभागले विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताहरु सञ्चालन गरिरहेको छ ।
सांगीतिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ, एकदेव लिम्बू, सुगम पोखरेल (व्याण्ड), केहर लिम्बू एण्ड जोइ व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्टसहितको प्रस्तुति हुनेछ ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।