Odapalika - The Fourth Estate - चौथो अंग
निजामती सेवा जिम्मेवारी हो, सुविधा होइन : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवालाई सुविधाका रुपमा नभइ जिम्मेवारीका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बुधबारदेखि सुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै उनले निजामती सेवा सुविधा नभइ जिम्मेवारी भएको बताए । कर्मचारीले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गरे सुविधाहरू आफैं प्राप्त हुने उनको भनाइ छ ।

‘निजामती सेवा भनेको जिम्मेवारी हो, सुविधा होइन भन्ने बुझ्नु आवश्यक छ,’ मन्त्री गुप्ताले भने, ‘तपाइँहरूले पनि जिम्मेवारीलाई प्राथमिकतामा राख्नु होला । पहिला जिम्मेवारी पूरा गरौँ । सुविधा आफैं प्राप्त हुन्छ ।’ कर्मचारीहरूले गर्ने कामसँग देशको गरिमा जोडिएको भन्दै उनले राम्रो काम गरेमा सबैले सम्मान प्राप्त गर्ने बताए ।

कर्मचारी प्रशासनको क्षेत्रमा अनेक समस्या रहेको र ती समस्या समाधान गर्न देशले इमान्दार र लगनशील कर्मचारी खोजिरहेको चर्चा गर्दै मन्त्री गुप्ताले सामुहिक प्रयासबाट मात्रै ती समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । त्यसका लागि नवनियुक्त शाखा अधिकृतहरूमा टिकाउ अठोट र दृढ आत्मविश्वास विकास हुनुपर्नेमा जोड दिए । ‘हामीले नागरिकमा सरकार र सार्वजनिक सेवाप्रति भरोसा बढाउनु छ । त्यसका लागि हामीले हाम्रो व्यवहार सुधार गर्नुपर्छ । नागरिकलाई सम्मान गर्नुपर्छ,’ उनले भने ।

मन्त्री गुप्ताले लोकसेवाको परीक्षा पास गरे पनि कर्मचारीहरूले वास्तविक परीक्षा कार्यस्थलबाट दिनुपर्ने स्मरण गराए । ‘तपाइँहरूले कापीमा लेख्ने परीक्षा पास गर्नु भएको छ । त्यो वास्तविक परीक्षा होइन । वास्तविक परीक्षा अब सुरू भयो । यो परीक्षामा दैनिक पास हुनुपर्छ । त्यसको जाँच नागरिकले लिन्छन् । म आशा गर्छु तपाइँहरू सफल हुनुहोस् । शुभकामाना पनि छ,’ उनले भने ।

कर्मचारीहरूको क्षमता विकास गर्न, आत्मवविश्वास बलियो बनाउन र सबैलाई निजामती सेवाप्रति प्रतिवद्ध बनाउन ‘आधारभूत प्रशासन प्रशिक्षण’ अत्यन्तै महत्वपूर्ण हुने उनको भनाइ छ । मन्त्रालयले यो तालिमलाई सफल बनाउन पूर्ण सहयोग गर्ने विश्वास पनि उनले व्यक्त गरे । साथै, आगामी दिनमा यो तालिमलाई अझै उच्चस्तरीय बनाउन प्रतिष्ठानसँग निरन्तर छलफल गरिरहेको जानकारी दिँदै उनले क्रमिक रूपमा सुधार गर्दै लैजाने बताए । 

‘तालिम अवधिभरि यहाँका नियमहरू पालना गर्नु होला । तालिममा पूर्ण ध्यान दिनु होला र सकेसम्म धेरै सिक्ने प्रयास गर्नु होला । प्रतिष्ठानले पनि तालिमलाई राम्रो बनाउन ध्यान दिनुहोला,’ मन्त्री गुप्ताले भने।

‘कर्मचारीहरू नेता बोकेर सिंहदरबार धाउँछन्’

यसैगरी सो कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताउनुभएको छ । कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको उनको भनाइ छ ।

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको समेत बताए । ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउँदै मन्त्री गुप्ताले भने, ‘मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या पर्‍यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’

अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहोर्‍याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update