Odapalika - The Fourth Estate - चौथो अंग
मैत्रीपूर्ण फुटबल : काठमाडौँका जनप्रतिनिधिसँग कर्मचारीे पराजित, मेयर बालेनको १ गोल

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । ३०औँ महानगर दिवसको अवसरमा बिहीबार सैनिक मुख्यालय भद्रकालीको फुटबल मैदानमा भएको खेलमा प्रमुख ११ ले प्रमुख प्रशासकीय ११ लाई पराजित गरेको हो ।

प्रमुख ११ को जितमा मेयर बालेन्द्र शाह (बालेन)ले १, सन्तोष ढुङ्गेलले २ गोल, नविन भण्डारीले १ गोल र विनय शाक्यले १ गोल गरे ।  प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गरेका थिए ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर सुरु भएको खेलमा जनप्रतिनिधिको नेतृत्व मेयर बालेनले र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका थिए । उनीहरु दुवैले ६० मिनेटको पुरा अवधि खेले । 

महानगर दिवसका अवसरमा शुक्रबार परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ । 

मंसिर २९ गते शनिवार विहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ ।

९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update