Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति 

काठमाडौँ । सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ५ दिन न्यायिक हिरासतमा राख्न अनुमति प्राप्त भएको छ । 

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार म्याद थप्न अदालतमा उपस्थित गराइएको थियो । 

गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशकसमेत रहेका रविसँगै पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीबीसँग जोडिएकी लिला पछाईलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

उनीहरुमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाएर मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । पक्राउ गरेको ९० दिनभित्र अभियोजन दर्ताका लागि अदालतमा कानुनी प्रक्रियामा गइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यसर्थ, छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका हुन् ।  ६ असोजबाट गणना गर्दा बिहीबार ८३ दिन पुगेको छ । अबको एक साताभित्र रविसहित पक्राउ परेका सबैविरुद्ध अभियोजन दर्ताका लागि अदालतमा जानुपर्ने हुन्छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update