जनकपुरधाम । स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुले आफूहरु जनताको सेवा गर्न आएको भन्दै अधिकार दिन माग गरेका छन् ।
धनुषा जिल्लाअन्तर्गत स्थानीय पालिकाका उपप्रमुख तथा उपाध्यक्षले विद्यमान कानुनमा आफूहरुको अधिकार सुरक्षित रहे पनि प्रयोग गर्न भने नदिएको गुनासो गरे ।
धनुषाका स्थानीय पालिकाका उपप्रमुख/उपाध्यक्षको शहीद नगरपालिकामा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले नगरपालिका तथा गाउँपालिकाको ऐन तथा कानुनमा स्पष्ट रूपमा अधिकार दिए पनि व्यवहारमा कुनै अधिकार नदिएको बताए । उनीहरुले संविधान तथा ऐन, कानुनमा भएको व्यवस्थाअनुसार नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखलाई अधिकार दिन माग गरे ।
जनकपुर उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले आफूहरुलाई अधिकारबाट बन्चित गराइँदा स्थानीय तहमा विवाद हुने गरेको बताए । गाउँपालिका तथा नगरपालिकाका प्रमुखले आफूखुसी काम गर्ने परिपाटीले प्रमुख र उपप्रमुखबीच द्वन्द्व बढ्दै गएको भन्दै उनले उपप्रमुखलाई अधिकारसम्मत काम गर्ने वातावरण बनाउन माग गरे ।
संवैधानिक व्यवस्थाअनुसार उपाध्यक्ष/उपप्रमुखलाई न्यायिक समितिको संयोजक तोकिएको भन्दै उनले तर, अधिकारबाट बन्चित गरिँदा न्यायिक समितिको संयोजक उपप्रमुखलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण नभएको बताए ।
यसैगरी, कमला नगरपालिकाका उपप्रमुख शिला मण्डलले आफूहरु जनताको सेवा गर्न आएकाले प्रमुखहरुबाट अधिकार खोसिने कार्य हुन नहुने बताइन् । आफूहरू सुविधा लिन मात्र उपप्रमुख नभएको बताउँदै उनले जनताको हितका पक्षमा काम गर्नेगरी अधिकार दिन माग गरिन् ।