काठमाडौँ । विभिन्न सहकारीको रकम हिनामिनाका मुख्य आरोपी गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ ।
गोरखा मिडियाका प्रवन्ध निर्देशक तथा सेयर सदस्य रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीलगायत पक्राउ परेर अनुसन्धानको दायरामा आउँदा पक्राउ पुर्जी जारी भइसकेका जीबी पक्राउ पर्न सकेका छैनन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको पत्राचारअनुसार राहदानी विभागले जीबी राईको पासपोर्ट रोक्का गरेको हो । उनको पोसपोर्ट रोक्का भएसँगै अब पक्राउ गर्न सहज हुने प्रहरीको अनुमान छ ।
फरार रहेका जीबी मलेसियामा रहेको बताइए पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । इन्टरपोलमार्फत आह्वान गर्दा पनि पक्राउ गर्न नसकेपछि उनको पासपोर्ट रोक्का गरिएको हो ।
यसअघि गत वैशाख ३० गते पनि उनको पासपोर्ट रोक्का वा रद्द गर्न कास्की प्रहरीले गरेको पत्राचारमा राहदानी विभागले उनको पासपोर्ट रद्द गर्न नमिल्ने निर्णय गरेको थियो।