Odapalika - The Fourth Estate - चौथो अंग
सिंजा गाउँपालिकाको पात्रोः आज सुकबार भोलि छुन्चरबार !

काठमाडौँ । भर्खरै केदारनाथ महोत्सव आयोजना गरेको जुम्लाको सिंजा गाउँपालिकासँग धार्मिक मात्र होइन सांस्कृतिक इतिहास र सभ्यता पनि लोभलाग्दो छ । 

पछिल्लो पटक पालिकाले लागु गरेको पात्रोलाई नै हेरौं । खस भाषा र संस्कृतिको संरक्षणका लागि लागिपरेको गाउँपालिकाले केदारनाथ महोत्सवको अवसर पारेर पालिकाभरी का लागि बेग्ले पात्रो सार्वजनिक गरेको छ । जसलाई गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल खस पात्रो भन्छन्् । 

यो पात्रो खस भाषामा मात्र छैन, खस संस्कृतिसँग जोडिएका चाडपर्व र संस्कृतिलाई समेत यसले समेटेको छ । 

र, यो वर्षदलेखि अब पालिकाले सार्वजनिक बिदादेखि पर्वसम्म यही पात्रो अनुसार मनाउने छ र सार्वजनिक बिदा पनि दिने छ । 

गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा महिनाका नामसमेत फरक छन् । किनकी ती खस भाषाबाट राखिएका छन् । गाउँपालिका अध्यक्ष धिताले वडापालिकासँग महिना र बारको नाम यसरी सुनाए– 

महिनाः वैशाख, जेठ, आषाढ, साउन, भदुव, असोज, कात्तिक, मुंसिर, पुस, माग , फागुन र चईत । 

बार ः आइतबार, सुमबार, माङ्लबार, बुधबार, बिहीबार, सुकबार र छुन्चरबार । 

पात्रोका बारेमा वडापालिकाले राखेको जिज्ञसामा उनले पात्रोमा कहिले सार्वजनिक बिदा दिइएको छ ? कहिले कुन संस्कृति र पर्व पर्छ भनेर विस्तृत बताएका छन् । उनले बताएअनुसार गत १० भदौमा सिंजावासीले स्याउ दिवस मनाए । 

सिंजामा मात्र नभइ खस प्रभाव क्षेत्रमा समेत खस भाषा र प्रथा हराउँदै गएपछि गाउँसभाले नै निर्णय गरेर नयाँ पात्रो प्रयोगमा ल्याउने निर्णय गरेको अध्यक्षको भनाइ छ । उनका अनुसार असार मसान्त काफल दिवस हो । यो दिन काफल खाने चलन छ । पालिकाभरी यो दिन सार्वजनिक विदा हुन्छ । 

साउन १ गते खस दिवस हो । यो दिनपनि बिदा हुन्छ पालिकाभर । यो दिन गाईभैसीको ठेक थिति कायम राख्ने अर्थात लेक लैजाने, थुम्का मालिकाको दर्शन गर्नेलगायतका परम्परा पर्छन् । 

साउन शुक्ल एकादशीमा केदारनाथ मेला लाग्ने, कात्तिक ६ गते तागा दिवस मनाउने गरी पात्रो निर्माण भएको अध्यक्षले बताए । 

उनकाअनुसार महिलाहरु माइतवाट फर्कने दिनलाई तागा दिवस भनिन्छ  यो वर्षमा २ पटक पर्छ । एकपटक कात्तिक ६ गते र अर्कोपटक बैशाख १ गते यो दिवस मनाइन्छ । 

पुसमा चेले तिहार (छोराको पूजा गर्ने), श्रीपञ्चमीमा हल्सारो पर्व (नयाँ खेती सुरु गर्ने दिन), मनाउने जस्ता विषय पात्रोमा उल्लेख छन् । चैत १२ मा मार्सी दिवस भनेर धानको बिउ राख्ने दिवसका रुपमा मनाउने पात्रोमा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update