काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनमा सोमबार शोक बिदा दिएको छ । लामो समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको सोमबार बिहान निधन भएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
काठमाडौँ महानगरले पूर्वमेयर सिंहको निधनमा सोमबार महानगरपालिका र मातहतका कार्यालयमा सार्वजनिक बिदा दिइएको छ ।
सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित भएका थिए । उनकै कार्यकाल २०५२ मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
महानगरपालिकाका प्रवक्ता मानन्धरका अनुसार सोमबार दिउँसो १ बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा सिंहको अन्तिम संस्कार हुनेछ ।