काठमाडौँ । एसीसी महिला यू–१९ एसिया कपमा पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक टेष्ट राष्ट्रलाई हराएर सेमिफाइनलको यात्रा सुनिश्चित गरेको नेपालले अब भारतसँगको भेट पक्का गरेको हो । नेपालले मंगलबार भारतसँग खेल्नेछ ।
सोमबार मलेसियाको बायोमास क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित निकालेको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्यलाई नेपालले १९ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेर सेमिफाइनलको यात्रा सुनिश्चित गर्न सफल भएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित सर्वाधिक ४७ रनको योगदान गर्दा सोनी पाख्रिनले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन जोडेको थियो । पाकिस्तानका लागि कोमल खानले ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन जोडे ।
नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिएका थिए।