काठमाडौँ । झापाको मेचीनगर नगरपालिकाले अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने काम थालेको छ । नगरपालिकाले १५ दिन लामो विशेष स्वास्थ्य शिविरसहितको अभियान थालेको हो ।
कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मेचीनगर–१ को बाहुनडाँगीमा सोमबार एक कार्यक्रमबीच अभियानको उद्घाटन गरे ।
उनले अपाङ्गता भएकाहरूको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँग सहकार्यमा स्वास्थ्य शिविरसहित विविध कार्यक्रमार्फत अभियान सञ्चालन गरिरहेको बताए ।
मेचीनगर नगरपालिकाले आगामी १५ दिनभित्रमा नगरका १५ वटै वडामा शिविर सञ्चालन गरी अपाङ्गता भएकाहरूलाई परिचयपत्र वितरण गर्ने जनाएको छ । प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीको टोली खटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
शारीरिक अशक्त भएका व्यक्तिलाई वडा तथा नगरपालिका धाउने झञ्झट नहोस् भनेर वडातहमा शिविरको आयोजना गरिएको भन्दै यसबाट लक्षितवर्ग लाभान्वित हुने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।
अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र बृहत्तर हितका लागि विशेष कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिका, कोसी प्रदेश सरकार र करुणा फाउन्डेसनबीच १ करोड ४२ लाख सहयोगको त्रिपक्षीय सम्झौता भएको छ ।