Odapalika - The Fourth Estate - चौथो अंग
धवलागिरि गाउँपालिकाका वडा वडामै पुगेर दीर्घरोगीको उपचार 

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट ८००  जनाभन्दा बढी लाभान्वित भएका छन् । 

नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते वाट सुरु गरेको कार्यक्रम मङ्गलबार समापन गरिएको छ । 

धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती कार्कीका अनुसार सातवटा वडामा एक–एक दिनका दरले सञ्चालन गरिएको कार्यक्रममार्फत ८१६ जना विभिन्न रोगका बिरामीले सेवा पाएका छन् । 

ताकममा १०६, मुदीमा १२५, मुनामा १ १५, लुलाङमा १३५, मराङमा ११५, मल्कवाङमा ११५ र गुर्जामा १३५ जनाले सेवा पाएका छन् । 

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको बताए । 

कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिएका थिए ।

धवलागिरि गाउँपालिकामा सातवटा वडा छन् । सवै वडामा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताए ।
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update