काठमाडौँ । सुदूरपश्चिमको बृहत् विकासका प्राथमिकता, सम्भावना, अवसर र चुनौतीका विषयमा विमर्श सूदुरपश्चिममा पहलिोपटक मेयर सम्मेलन हुने भएको छ । आगामी १५ र १६ पुसमा डडेल्धुराको परशुरामधाम नगरपालिकामा ‘पहिलो मेयर सम्मेलन’ हुँदैछ ।
सम्मेलनमा सुदूरपश्चिमका सबै उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहने जनाइएको छ । आयोजक परशुरामधामका नगरप्रमुख भरत बडायर जोशीले स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत यहाँको विकास प्रवद्र्धनका लागि सङ्गठित आवाज मुखरित गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए ।
सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको मेयर जोशीले बताए ।
परशुराम नगरपालिकाका सल्लाहकार तेजराज विष्टले दुईदिने सम्मेलनका विषयवस्तु पहिचान, अतिथि छनोट तथा आमन्त्रण, कार्यक्रम ‘मोडालिटी’ तय गर्नुका साथै समग्र व्यवस्थापनका काम तीव्ररूपमा भइरहेका बताए ।
सम्मेलनका क्रममा युवा उद्यमशीलता, समावेशी विकास र बसाइँसराइ न्यूनीकरणका लागि सामाजिक उद्यमशीलता प्रवद्र्धन, पर्यटन विकास र समुदायलाई लाभ, स्थानीय आवश्यकतामा आधारित योजना र नीतिरमार्गदर्शन, स्थानीय उत्पादन पहिचान तथा प्राथमिकीकरण (हरित उत्थानशील कृषि), विपद् व्यवस्थापन (जलवायु परिवर्तन) जस्ता विषयमा विमर्श सत्र आयोजना हुनेछन् ।