Odapalika - The Fourth Estate - चौथो अंग
माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ? 

काठमाडौँ । चितवनको माडी नगरपालिकाभित्र १ हजार २६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । माडी नगरपालिकाले जारी गरेको एक सूचनाका आधारमा यी परिवारलाई अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर वर्गीकरण गरिएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब घरपरिवारको सूची विवरण सार्वजनिक गरेको हो । 

नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार २०७८ सालदेखि माडी नगरपालिकाका ९ वटा वडामा ८ जना गणक र एकजना सुपरिवेक्षकले घरधुरी सर्वेक्षण गरेका थिए । सोही सर्वेक्षणका आधारमा गरिब घरपरिवार पहिचान गरी सार्वजनिक गरिएको हो । 

हरेक घरमा कार्यविधि अनुसारका प्रश्नावली बनाएर सर्वेक्षण गरिएको भण्डारीले बताए । घरको आम्दानी, खर्च, आर्थिक अवस्थालगायत विषयमा केन्द्रित रहेर गणना गरिएको छ ।

प्रारम्भिक सूचीमा परेका गरिबहरूलाई नाम सच्याउन र विवरण समावेश गर्न नगरपालिकाले १५ दिनको सूचनासमेत प्रकाशन गरेको छ । यस सूचीमा परेका परिवारहरूलाई सरकारले परिचयपत्र वितरणसँगै राज्यबाट पाउने सेवासुविधामा उच्च प्राथमिकतामा राख्ने सूचना अधिकारीे भण्डारीले बताए ।

नगरप्रमुख ताराकुमारी काजी महतोले  गरिब परिवारको पहिचानसँगै नगरपालिकालाई भावी कार्यक्रम बनाउनसमेत सहयोग पुग्ने बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update