Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थीलाई सहकारी सिकाउँदै नेपालगञ्ज उपमहानगरपालिका 

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका ६ वटा विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो ।  

उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखाका प्रमुख प्रवीण रानाले बुधबार महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई सहकारी शिक्षा दिएसँगै अभियान सुरु भएको बताए ।

उनले यस वर्ष नेपालगञ्जका महेन्द्र मावि, आदर्श मावि, मङ्गलप्रसाद मावि, धम्बोझी मावि, सरस्वती र जयजनता माविमा सहकारी शिक्षा कार्यक्रम संचालन गरिने बताए । 

सहकारीको अवधारणा, सहकारी दर्ता र अहिले सहकारीमा देखिएका समस्या र अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सहकारी शिक्षा थालेको उपमहानगरपालिकाको भनाइ छ ।

उपमहानगरले विगत वर्षमा पनि यस्तो कार्यक्रम गर्दै आएको थियो । अघिल्लो वर्ष उपमहानगरका २४ विद्यालयका प्रतिनिधिको सहभागितामा सहकारी शिक्षा प्रदान गरिएको थियो । 

उपमहानगरपालिकाले सहकारीलाई व्यवस्थित र विश्वसनीय बनाउन सूचना प्रविधि तालिमसमेत दिएको छ । दुईदिने तालिममा सहकारीको सफ्टवेयर वा इन्टरनेट चलाउँदा हुने समस्या, त्यसबाट जोगिने तरिका, साइबर सेक्युरिटी, सहकारीको डिजिटल फम्र्याटमा उपस्थिति देखाउनेलगायत विषयमा प्रशिक्षित गरिएको जनाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update