Odapalika - The Fourth Estate - चौथो अंग
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह 

काठमाडौँ । विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने प्रयोजनका साथ काभ्रेका स्थानीय तहले धमाधम चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् । 

गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको क्षति भएपछि राहत तथा पुनर्वासका लागि यहाँका स्थानीय तहले विशेष सभामार्फत योजनागतरुपमा विनियोजत बजेट कटौती गर्न थालेका हुन् । 

बिहीबार धुलिखेल नगरपालिकाको सोह्रौँ अधिवेशनमा विशेषसभाको आयोजना गरी बाढीपहिरोका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुनर्निर्माणका लागि नगरले आवश्यक बजेट विनियोजन गर्न चालु आवको ७५ वटा योजनाको बजेट संशोधन गर्ने निर्णय गरिएको छ । 

उक्त नगर सभाले नगरको कर्मचारी व्यवस्थापन सम्बन्धि (विशेष) विधेयक, नगरको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २)८१, आर्थिक ऐन तथा राजश्वका दररेट संशोधन गर्ने निर्णय गरिएको नगर प्रमुख अशोक ब्याञ्जूले बताए ।

नगर प्रमुख ब्याञ्जूका अनुसार नगरमा विपद्बाट भएको क्षतिको जानकारी गराउँदै धुलिखेललाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । नगरसभाले अनुमोदन गरेको विधेयकमध्ये विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक–२०८१ महत्वपूर्ण रुपमा छ भने नगर प्रमुखको संयोजकत्वमा विभिन्न क्षेत्रका व्यक्ति सदस्य रहने गरी वडास्तरमा समेत विपद् ब्व्वस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ । 

सभाले पूर्वाधार, खानेपानी, भवन, आवास तथा सहरी विकास, वडा विशेष अनुदान, नगरस्तरीय भैपरी योजना, समपूरक तथा साझेदारी सङ्घ र प्रदेशका योजनामा विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको जनाइएको छ ।

यसअघि विशेष अधिवेशनको आयोजना गरी जिल्लास्थित रोशी र बेथानचोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्वासका लागि चालु आवको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गरेका छन् । 

बेथानचोक गाउँपालिकाले गत मङ्सिर १४ गते विशेष गाउँ अधिवेशनको आह्वान गरी चालु आवमा विनियोजित ६४ करोड १२ लाख बजेटमा ९ करोड ३१ लख ८७ हजार रुपैयाँ कटौती गरी विपद् व्यवस्थापन कोषका लागि छुट्याएको थियो । 

गाउँपालिकाले चालु आवका लागि १५औँ अधिवेशनद्वारा पारित महत्वपूर्ण योजनाबाहेकका योजना कटौती गरी विपद् व्यवस्थापन योजना तयार गर्न लागिएको अध्यक्ष भगवान अधिकारीले बताए ।

उनका अनुसार उक्त बजजेटबाट प्राथमिकताका आधारमा पुनर्निर्माणबारे योजना बनाइनेछ । बाढीपहिरोले उक्त गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने २३ हजार ६०० स्थानीय प्रभावित बनेका थिए ।

रोशी गाउँपालिकाले बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएपछि १५औँ अधिबेशनले चालु आवको योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न गत कात्तिक ३० गते नै विशेष सभामार्फत निर्णय गरेको थियो । 

गाउँपालिकाले विपदसँग सम्बन्धित बनाएर २६६ योजना संशोधन गरेको छ भने विपद् कोष २ करोड ८० लाखको बनाएको जनाएको छ । कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद खर्च, बाढीपहिरोले पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायतका विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए ।

बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगर, रोशी र बेथानचोक गाउँपालिका अतिप्रभावित क्षेत्रमा पर्दछन् । 

बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । तेह्र स्थानीय तहमा कुन तहमा हालसम्म कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनै पनि सरकारी निकायसँग छैन । जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा २ हजार ८४४ घर पूर्ण र ६ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ३ हजारदेखि ३ हजार ५०० घर पुनर्निर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update