काठमाडौँ । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय)को राहदानी शाखामा तोडफोड तोडफोड गरे ।
उनले शाखाको स्क्यानर मेसिन फोडे । बिहीबार तोडफोड गरेका अध्यक्ष थापालाई नियन्त्रणमा लिएर बिहीबार नै प्रहरी छाडिदिएको छ ।
किन उनले सीडीओका कार्यालय तोडफोड गरे ? यसबारे थापाले सार्वजनिक रुपमा आफ्ना नागरिकले सेवा नपाएपछिको आक्रोशको रुपमा अर्थ्याएका छन् । अध्यक्ष थापाले भनेझैँ उक्त गाउँपालिकाका प्रवक्तासमेत रहेका २ नम्बर वडाका वडाध्यक्ष रेशमराज न्यौपानेले पनि राहदानी बनाउन पुगेका आफ्नो पालिकाका नागरिकलाई चुस्त सेवा नदिएपछिको अवस्थाले घटना भएको वडापालिकालाई बताए ।
सदरमुकामबाट कालीगण्डकी गाउँपालिकाका दूरीको हिसाबले टाढा रहेको र टाढाबाट आएका आफ्ना नागरिकलाई सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि अध्यक्ष थापाले सामान फुटाइदिएका हुन् ।
विपद् व्यवस्थापनको बैठकमा सहभागी हुन सीडीओ कार्यालय पुगेका अध्यक्ष थापालाई राहदानी बनाउन आफूहरुले पाएको सास्तीबारे आफ्ना नागरिकले बताएपछि उनको धर्यता टुटेको हो । ‘अध्यक्षज्यू, हिजो विपद् व्यवस्थापनको नियमित बैठकमा सहभागी हुन सीडीओ कार्यालय पुग्नु भएको थियो,’ प्रवक्ता न्यौपानेले भने, ‘चार दिन अगाडि नै बन्नुपर्ने राहदानी चार दिनपछि पनि नबनेपछि घटना भएको हो । नागरिकले अध्यक्षज्यूलाई गुनासो गरेपछि उक्त अवस्था सिर्जना भएको अध्यक्षज्यूले भन्नुभएको थियो ।’
यसबारे बुझ्न अध्यक्ष थापालाई गरेको सम्पर्कको प्रयास सफल भएन । ‘अध्यक्षज्यू, यता आउँदै हुनुहुन्छ, फोन सम्पर्क पनि हुन सकेको छैन । फोन पनि रिसिभ गर्नु भएको छैन, बाटोमै भएर होला,’ प्रवक्ता न्यौपानले भने ।