Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी

काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् ।

नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषदको पहिलो बैठक विश्वविद्यालयको संपर्क कार्यालय, काठमाडौंमा सम्पन्न भएको छ। संरक्षण परिषदका मनोनित सदस्यहरू मध्येबाट कुलपतिको चयन हुने ऐनको व्यवस्था अनुसार डा. लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा चयन भएका हुन् ।

सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा. लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । 

नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेशागत जीवन सुरु गरेका डा. लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एशियाली विकास बैंकमा विभिन्न महत्वपूर्ण पदमा ३० वर्ष कार्यरत थिए । उनी पछिल्लो चरणमा एसियाली विकास बैंकको उपाध्यक्षको जिम्मेवारीमा थिए ।

डा. लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृतिहरू प्रकाशित भएका छन्। विकास, वातावरण र व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा एक प्रवुद्ध व्यक्तित्वको रूपमा परिचित डा. लोहनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित भइसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update