Odapalika - The Fourth Estate - चौथो अंग
राप्तीसोनारीमा ट्रकसँग ठोक्कियो बस, एकै वडाका ५ सहित ७ जनाको मृत्यु 

बाँके । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक शुक्रवार राति भएको सडक दुर्घटनामा ७ जनाको ज्यान जानुको साथै २९ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जान लागेको यात्रुबाहक ना ७ ख २३२१ नम्बरको बस रोकि राखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङको धारपानी भ्रमणबाट फर्किँदै गर्र्दा बिग्रिएर रोकिएको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नारायण डागीले जानकारी दिए ।

घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सो बसमा ४१ जना सवार  थिए । घाइते मध्ये गम्भीर २ जना, मध्यम १२ जना, सामान्य १५ जना, सकुशल ५ जना गरी ४१ जना छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update