काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा आइतबार जिल्ला अदालत कास्कीमा रास्वपा सभापति रवि लामिछाने, ढोरपाटनका मेयर देवकुमार नेपालसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उनीहरुविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको हो । अदालतका अनुसार आइतबार मुद्दा दर्ता हुनेमा ३१ जना र ८ कम्पनी सहकारी ठगीमा र १९ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग लगाइएको छ । जसमध्ये ५ जनाविरुद्ध सम्पत्ति जफतको माग गरिएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने, ढोरपाटनका मेयर नेपाली, पूर्वडीआईजी छविलाल जोशी, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ३१ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । दायर अभियोग पत्रमा उनीहरुसँग कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको छ ।