Odapalika - The Fourth Estate - चौथो अंग
१७ वडा र २ पालिकामा उपनिर्वाचन गर्नुपर्ने, तर अझै छैन तयारी 

काठमाडौँ । स्थानीय सरकारका २ जना प्रमुख उपप्रमुखसहित १७ जना वडाध्यक्ष पद रिक्त भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयले जनाएको छ । 

मन्त्रालयले गत ५ भदौमा स्थानीय तहहरुलाई मृत्यु वा अन्य कारणबाट रिक्त भएका जनप्रतिनिधिको विवरण पेश गर्न स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई पत्राचार गरेको थियो । 

७ दिनको समयावधि दिएर पुनः ताकेता गरेको मन्त्रालयले यो अवधिमा पालिकाका प्रमुख र वडाध्यक्ष गरी १९ स्थानमा तत्काल निर्वाचन गराउनु पर्ने तथ्यांक आएको जनाएको छ । 

वडा सदस्यहरुको तथ्यांक भने प्रशोधन भइरहेकाले यकिनका साथ भन्न सकिने अवस्था अझै नभएको मन्त्रालयको भनाइ छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगमा पेश गरेको प्रारम्भिक तथ्यांकअनुसार नै तत्काल १९ स्थानमा उपनिर्वाचन गर्नुपर्ने देखिएको निर्वाचन आयोगको भनाइ छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भएकाले सो स्थानसहित देशभरका १७ वटा वडामा तत्काल निर्वाचन गर्नुपर्ने अवस्था देखिएको मनत्रालयको भनाइ छ । 

कोशी प्रदेशका २, मधेशको १, बामगतीका ३, गण्डकीको १, लुम्बिनीका ३, कर्णालीका २ र सुदूरपश्चिम प्रदेशका ३ वटा स्थानीय तहका विभिन्न वडामा वडाध्यक्षको पद रिक्त रहेको तथ्यांक मन्त्रालयमा प्राप्त भएको छ । 

मन्त्रालयका अनुसार सुनसरीको गढी गाउँपालिका–६, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौतहटको इशनाथ नगरपालिका–६, काठमाडौंको कीर्तिपुर नगरपालिका–४, नुवाकोटको ककनी गाउँपालिका– २ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा वडाध्यक्षको उपनिर्वाचन गर्नुपर्ने भएको छ । 

गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट गाउँपालिका–१, रोल्पाको रुन्टिगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्षको पनि मृत्यु भएका कारण उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । 

दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४ र डोटीको पूर्वीचौकी गाउँपालिका–६ वडामा पनि अध्यक्ष पद खाली छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको पनि उपनिर्वाचन 

संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयले आयोगलाई उपलव्ध गराएको तथ्यांक अनुसार १ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको पद रिक्त भइसकेकाले ती स्थानमा पनि उपनिर्वाचन गर्नुपर्ने छ । 

दैलेखको महाबु गाउपाँलिका अध्यक्ष लक्षुमन गुरुङको २७ माघ,२०७९ मो हृदयाघातबाट निधन भएको छ भने दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको पनि गत ३१ असारमा हृदयाघातका कारण निधन भएको छ । यी स्थानमा पनि उपनिर्वाचन गराउनुपर्ने छ । 

वडाध्यक्ष नहुँदा कहाँ कहाँ पर्छ असर ?

वडाध्यक्षले राजिनामा दिए वा मृत्यु भए पुनः निर्वाचन गराउनुपर्ने प्रावधान छ । किनकी स्थानीय सरकार सञ्चालन ऐनले वडाध्यक्षलाई वडा समितिका सदस्यको काममा समन्वय र सजीकरण गर्ने, वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेश गर्ने, वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने तथा त्यसको अनुगमन तथा आवधिक समीक्षा गर्ने काम तोकेको छ । 

वडा अध्यक्षले नाता प्रमाणित गर्ने, नागरिकता तथा नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने, जन्ममिति प्रमाणित गर्ने, विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने, जीवित एवं मृतकसँगको नाता प्रमाणित गर्ने, तथा सर्जमिन सिफारिस गर्नेलगायतका काम गर्छन । वडाध्यक्षको अभावमा यी कामपनि प्रभावित हुन्छन् । 

उपप्रमुख र उपाध्यक्ष नहुँदा कहाँकहाँ पर्छ असर ? 

स्थानीय सरकार सञ्चालन ऐनले प्मुख वा अध्यक्षको अनुपस्थितिमा उपप्रमुख या उपाध्यक्षले काम गर्ने गरी जिम्मेवारी तोकेको छ । तर उपप्रमुख या उपाध्यक्ष नहुँदा भने न्यायी समितिलगायतका कामकारवाही ठप्प हुने अवस्था छ छ ।

उपप्रमुख या उपाध्यक्षले स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समितिको संयोजक भएर काम गर्ने, गैरसरकारी संघसंस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षणसम्बन्धी कामको समन्वय गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी त्यसको प्रतिवेदन बैठकमा पेश गर्ने काम गर्छन् । सभा र कार्यपालिकाबाट गठित समितिको काममा सहजीकरण र समन्वय गर्नेजस्ता काम पनि प्रभावित हुन्छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update