Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेको सांसद पद निलम्बन

काठमाडौँ । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ ।

लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएकोले उनको पद निलम्बनमा परेको हो । २०७९ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेले नेपाली नागरिकता सक्रिय नगराइ सार्वजनिक पद धारण गरेको अभियोगमा मुद्दा परेपछि उनको पद गएको थियो । सोही कारण चितवन–२ मा २०८० बैशाखमा उपनिर्वाचन भएको थियो । लामिछानेले नेपाली अमेरिकी नागरिकता लिएका थिए । सोही कारण उनको नेपाली नागरिकता निष्क्रिय थियो ।

सो उपनिर्वाचनमा पनि लामिछाने विजयी भएका थिए । तर, उनीमाथि सूर्यदर्शन लगायतका सहकारी संस्थाबाट अनधिकृत रकम ल्याएर गोर्खा मिडिया प्रालिमा लगानी गरेको कसुरमा ३ अभियोग लगाएर मुद्दा दायर भएको छ ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री पनि हुन् ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।

‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनको सो दफामा भनिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update